जनता टाइम्स

१९ श्रावण २०८१, शनिबार २२:४०

महिला भलिबल टोलीलाई प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पौडेलको बधाई


काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ ।

राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिनुभएको हो ।

‘नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । बधाई नेपाली टिम,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

यस्तै उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पनि महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । ‘काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

आज भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो भने जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्‍यो भने तेस्रो सेटमा नेपालले भारतलाई २५-१७ ले पाखा लागाएको थियो । चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५(१३ ले पराजित गर्यो । उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ ।