ढाका, साउन २२ । बंगलादेशमा आन्दोलनरत विद्यार्थी नेताहरूले संसद भंग गर्न अल्टिमेटम दिएका छन ।
संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी समेत बिद्यार्थी नेताहरुले दिएका छन । २६ वर्षीय विद्यार्थी नेता नहिद इस्लामले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै संसद भंग गर्न माग गर्नुभएको हो ।
संसद भंग नभए थप आन्दोलनका लागि तयारी अवस्थामै रहन पनि उहाँले प्रदर्शनरत विद्यार्थीहरूलाई बताउनु भएको छ । बंगलादेशको सेना प्रमुख वाकेर–उज–जमनले मंगलबार ती विद्यार्थी नेताहरूलाई भेट्ने बताउनु भएको थियो ।
सेना प्रमुख जमनले नयाँ सरकार बनाउने तयारी थालिसक्नु भएको छ । सरकार बनाउन उहाँले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेको समाचार छ । विद्यार्थी नेताहरूले भने सेना समर्थित वा सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन ।
विद्यार्थी नेताहरूले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव राखिसकेका छन । युनुसले पनि यसबारे स्वीकार गरिरहेकोझ उहाँका प्रवक्ताले रोयटर्ससँग भनेका छन । ८४ वर्षीय युनुस र उहाँको ग्रामीण बैंकले सन् २००६ मा नोबल पुरस्कार जितेको थियो । लाखौं जनतालाई १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेकोमा उहाँलाई पुरस्कृत गरिएको थियो ।
गत जुनमा उहाँविरूद्ध रकम हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भएको थियो । तर उहाँले उक्त आरोप अस्वीकार गर्नुभएको थियो । हाल युनुस पेरिसमा रहेको रोयटर्सले जनाएको छ । त्यसैगरी बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पनि जेल सजाय भोगिरहेकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेता बेगम खालिदा जियालाई छाड्न पनि आदेश दिनुभएको थियो ।
सेनाका प्रमुख वाकेर–उज–जमन, नेभी र एयरफोर्स प्रमुख, बिएनपी सहितका शीर्ष नेताहरू राष्ट्रपतिले बोलाएको बैठकले सर्वसम्मतिले निर्णय गर्दै उहाँलाई छाड्न आदेश दिएका हुन ।
त्यस्तै आरक्षणविरूद्धको विद्यार्थी आन्दोलनको क्रममा पक्राउ परेका दुई हजार भन्दा बढीलाई पनि छाड्न आदेश दिनुभएको छ ।
आरक्षणविरूद्धको आन्दोलन चर्किदै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडनु भएको थियो । उहाँ हाल भारतको शरणमा रहनुभएको छ । भारतबाट बेलायत जाने तयारीमा रहेका समाचार एजेन्सीहरुले जनाएका छन । उहाँले देश छाडेसँगै आन्दोलनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । सेना प्रमुखले पनि अन्तरिम सरकार बनाइने घोषणा गरिसकेका छन ।












प्रतिक्रिया दिनुहोस्