काठमाडौं, साउन २६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ ।
हालको मौसमको अवस्थाबारे तीन दिनको पूर्वानुमानसहित बिशेष बुलेटिन जारी गर्दै महाशाखाले शनिवार कोशीसहित चार प्रदेशमा भारी बर्षा हुने जनाएको हो । महाशाखाले भनेको छ, ‘शनिवार कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।’
महाशाखाका अनुसार शनिवार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा मधेश प्रदेशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महााखाको भनाई छ ।
यसैगरी शनिवार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्