जनता टाइम्स

२० भाद्र २०८१, बिहीबार २२:०६

आयोनमा पहिलो पटक महिला नेतृत्व


काठमाडौं, २० भदौ । नेपाल युवा संस्था संजाल ( आयोन ) ले इतिहासमै पहिलो पटक महिला नेतृत्व पाएको छ । ललितपुरको गोदावरीमा गत बुधबार सम्पन्न आयोनको १७ औं बार्षिक साधारणसभा तथा ९ औं अधिवेशनले सुजाता बरालको नेतृत्वमा २१ सदस्यीय नयाँ टिम निर्वाचित गरेको हो ।

देश भरिका युवा संस्था तथा युवाहरूको क्षेत्रमा कामगर्ने संस्थाहरूको छाता संस्थाको रूपमा रहेको आयोनले २९ बर्ष भित्रका युवाहरूको नेतृत्व गर्दै आइरहेको छ । नेपालमा युवाहरूको क्षेत्रमा बनेका नीति, योजना र कार्यक्रम प्रभावकारी कार्यन्वयन गराउने, युवाहरूको सीप, क्षमता विकास र रोजगारि बढाउन काम गर्ने, युवाहरूमा देखिएका कुलत, मनोसामाजिक समस्या, शिक्षा तथा स्वास्थमा भएका समस्यामा काम गर्ने उदेश्य लिएको अध्यक्ष सुजाता बरालले बताएकी छन् ।

निर्वाचित नयाँ टिमको अध्यक्षमा सिन्धुलीकी बराल चुनिएकी छन भने बरिष्ठ उपाध्यक्षमा महोत्तरीका गौतम शर्मा र उपाध्यक्षहरूमा क्रियस अर्याल, सरला जैसवाल, सुमन चौलागाई बिष्णु सुवेदी विष्णु पाण्डे, सन्देश बि.सी.नितिन पाण्डे रहेका छन् । नव निर्वाचित टिमको महासचिवमा ललित ओझा, सचिवमा रितेश अधिकारी , कोषाध्यक्षमा कमलेश यादव छानिएका छन् । सदस्यमा बुद्धिमान पुन , प्रकाश खड्का ,पर्वत महत, निर्मल राज शाही , सागर रेग्मी, बिकास राय अनुपा खतिवडा, संगिता रेग्मी, अमृता कुशवाहा ,निर्वाचित भएको आयोनले जनाएको छ ।

उपाध्यक्षहरू हरेक प्रदेशबाट एक/एक जना निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । जसमा अर्याल कोशीका हुन् भने जैसवाल मधेश, चौलागाई बागमति, सुबेदी गण्डकी, पाण्डे लुम्बिनी, बि.सी. कर्णाली र अर्का पाण्डेले सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन् । सदस्यहरूमा पनि जात, भाषा, भूगोलको ख्याल गरिएको आयोनको कथन छ ।