काठमाडौं, भदौ २२ । नाबालिकालाई यौन व्यवसायमा लगाएको अभियोगमा प्रहरीले एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिकालाई यौन ब्यवसाय गराएको प्रमाणका आधारमा दुई जनालाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरीउपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ बस्ने ३३ वर्षीय राजिब लामा र सिन्धाल्चोक इन्द्रावती गाउँपालिका–५ बस्ने २५ वर्षीय सुनिता भन्ने सर्मिला कटुवाललाई पक्राउ गरिएको हो ।
उनीहरूले ललितपुरको सातदोबाटोस्थित न्यु नमस्ते रेष्टुरेन्ट बार सञ्चालन गर्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएका बालिका÷महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी काममा राखेर यौन धन्दा गराउने गरेको एसपी मिश्रले बताउनु भयो ।
एसपी मिश्रका अनुसार राजीव र शर्मिलाले पसलमा आएका ग्राहकसँग बसेर मादक पदार्थ भर्ने, ग्राहकसँगै बसेर खान लगाई धेरै बिल बढाउने काममा लगाउने गर्थे।
त्यस्तै महिला तथा बालिकाहरूलाई ग्राहकसँग शारिरीक सम्पर्क राख्न समेत पठाउने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।
यसरी उनीहरुले ग्राहकबाट प्रतिव्यक्ति एक हजारदेखि ५ हजारसम्म लिएर पीडितलाई पाँच सय रुपैयाँ दिने गरेको खुलेको छ । प्रहरीले बारबाट प्रयोग भएका र नभएका ठूलो परिमाणमा अस्थायी साधन समेत बरामद भएको जनाएको छ ।
नाबालिकालाई यौन व्यवसायमा लगाउने गरेको भन्ने सूचनापछि प्रहरीले बिहीबार तीन जनालाई सो होटलबाट उद्धार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्