जनता टाइम्स

६ आश्विन २०८१, आईतवार १६:२९

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार श्रेष्ठ सम्मानित, पुरस्कारको रकम क्यान्सपीडित पत्रकारलाई दिने घोषणा


काठमाडौं, असोज ६ । दृष्टि मिडियाका अध्यक्ष एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८१’बाट सम्मानित हुनुभएको छ ।

काठमाडौंमा आयोजित एक समारोहबिच करेन्ट मिडिया एन्ड रिसर्चका अध्यक्ष प्रदीपा गौतमले श्रेष्ठलाई नगद एक लाख रुपैयाँसहित सम्मान गर्नुभयो । श्रेष्ठसहित गेहेन्द्रमान अमात्य र रघु घिमिरे पनि सम्मानित हुनुभएको हो ।

२०३८ सालमा नेपाल पोस्टको सहयोग साथ प्रकाशित ‘मायालु’ पत्रिका श्रेष्ठको नाममा दर्ता भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन र नेपाल पोस्टलाई निरन्तरता दिन उक्त पत्रिका श्रेष्ठले सहयोद्धाको रुपमा देवेन्द्र गौतमलाई प्रकाशन गर्न दिनुभएको थियो ।

नेपाल पोस्टको सहयोगमा प्रकाशित मायालु पत्रिका २०३८ सालको ‘गाईजात्रा’ अंक तत्कालीन पञ्चायती शासकहरूले प्रतिबन्ध लगाएर गौतम र श्रेष्ठलाई राज्यविरुद्धको अभियोग लगाइएको थियो । २०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा नेपाल पोस्टको ठूलो योगदान थियो ।

नेपाल पोस्ट पत्रिकामाथि पटक–पटक प्रतिबन्ध लगाएपछि नेपाल पोस्टको सहयोग साथ धेरै पत्रिकाहरू निरन्तर प्रकाशित भए । नेपाल पोस्टका सम्पादक गौतम जेल परेपनि ‘नेपाल पोस्ट’ले निरन्तर संघर्ष गर्‍यो ।

पत्रकारिताकै सिलसिलामा गौतम धेरै पटक जेल परे, मण्डलेहरूको आक्रमणबाट घाइते भए तर पनि आफ्नो आस्था र निष्ठालाई गौतमले डग्न दिनुभएन । सो कार्यक्रममा श्रेष्ठले प्राप्त गरेको एक लाख रुपैयाँ क्यान्सर पीडित इटहरीका पत्रकार पिवी दियालीलाई स्वास्थ्योपचार खर्चका लागि दिने घोषणा गर्नुभएको छ ।