जनता टाइम्स

१६ आश्विन २०८१, बुधबार १७:२३

इजरायलमाथि इरानले गरेको मिसाइल प्रहारको अन्तराष्ट्रिय समुदायद्वारा निन्दा, इजरायललाई साथ दिने घोषणा


काठमाडौं, असोज १६ । इरानले इजरायलमाथि सयौं मिसाइल प्रहार गरेको छ । इरानले मंगलबारदेखि निरन्तर इजरायलमाथि मिसाइल प्रहार गरेको हो । तीमध्ये केही केही मिसाइल इजरायलको सहरी क्षेत्रमा खसेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन ।

इजरायलमाथि इरानले दोस्रोपटक आक्रमण गरेको हो । यसअघि गत अप्रिलमा पनि इरानले ड्रोनबाट आक्रमण गरेको थियो । इजरायली सेनाले आक्रमण रोकिएको बताए पनि इरानले गरेको आक्रमणबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलाइएको छैन ।

इजरायलको विदेश मन्त्रालयले इरानले १८१ वटा मिसाइल प्रहार गरेको बताएको छ । आक्रमणबाट एक जना प्यालेस्टीनीको मृत्यु भएको र दुई जना घाइते भएको बिदेश मन्त्रालयले जनाएको छ । इरानको आक्रमणलाई लिएर इजरायलले कडा निन्दा गरेको छ ।

इरानी शासन विश्व शान्तिका लागि नै खतरा रहेको इजरायलले बताएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण गरेर इरानले ठूलो गल्ती गरेको बताउनु भयो । आक्रमण इरानलाई महँगो पर्ने प्रधानमन्त्री नेतान्याहुले चेतावनीसमेत दिनुभएको छ । इरानले भने तलमाथि गरिए पुनः मिसाइल प्रहार गर्ने चेतावनी दिएको छ ।

इरानले मंगलबार स्थानीय समयअनुसार साँझ साढे ७ बजे तेल अविव र आसपासका क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । इजरायली सेनाले मध्य र दक्षिणी भूभागमा आक्रमण भएको पुष्टि गरेको छ । इजरायलले केही मिसाइलबाहेक सबैलाई परास्त गरेको बताएको छ । तर, इरानी सेनाले ९० प्रतिशत बढी मिसाइल ’टार्गेट’मै खसेको जनाएको छ । इरानको सरकारी मिडियाका अनुसार ती मिसाइल इजरायलको सैन्य केन्द्रहरूमा केन्द्रित थियो । तर, इजरायलको एयर डिफेन्सले मिसाइललाई नस्ट गरेको दाबी गरिएको छ ।

टाइम्स अफ इजरायलका अनुसार इरानी आक्रमणका कारण करिब एक करोड इजरायली नागरिक सेल्टरमा बस्नुपरेको छ । इरानी आक्रमणलाई पनि परास्त गरिएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । अमेरिका र जोर्डनको सहयोगमा इरानी मिसाइल आकाशमै नस्ट गरिएको दाबी टाइम्स अफ इजरायलले गरेको छ ।

इरानले किन गर्यो आक्रमण ?

इस्लामिक रिभ्युल्शनरी गार्ड कोर (आइआरजीसी) ले आफ्ना कमान्डरको हत्याको जवाफस्वरुप इजरायलमाथि आक्रमण गरेको बताएको छ । आइआरजीसीको बयानमा हिज्बुल्लाहका प्रमुख असन नसरल्लाह र बेरुतमा हत्या गरिएको विषयमा उल्लेख छ । त्यतिमात्र होइन, इरानले हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको हत्यामा पनि इजरायलको हात रहेको दाबी गरेको छ । तर, इजरायलले यो दाबीलाई अस्वीकार गर्दै आएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले इरानका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै आयातुल्लाह अली खान्मेनेईको व्यक्तिगत आदेशमा इजरालयमाथि आक्रमण भएको उल्लेख गरेको छ । यसले दुई देशबीचको द्वन्द्व झनै चर्किरहेको छ । इरानी आक्रमणको धेरै देशले निन्दा गरेको छ । अमेरिका, बेलायत, क्यानडा, जापान, फ्रान्सलगायतले इरानी आक्रमणको निन्दा गरेका हुन । ती देशहरूले इजरायललाई साथ दिने घोषणा पनि गरेका छन ।