जनता टाइम्स

२५ आश्विन २०८१, शुक्रबार ०८:०१

आज महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै, भोलि बिहान ११ः३६ बजे टीकाको साइत उत्तम


काठमाडौं, असोज २५ । आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।

यस्तै दोस्रो दिन असोज १८ गते शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी देवी र तेस्रो दिन गत शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौंथो दिन आइतबार र पाँचौं दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । सोमबार पनि चौथी तिथि वृद्धि भएकाले दुवै दिन कुष्माण्डा देवीकै पूजाआराधना गरिएको थियो । यस्तै, छैटौं दिन मङ्गलबार स्कन्दमाता, सातौं दिन बुधबार कात्यायनी देवी, आठौं दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो ।

दुर्गा पक्षको आठौं दिन आश्विन शुक्ल अष्टमीमा आज महागौरी र नवमी तिथि पनि परेकाले सिद्धिदात्री देवीको पनि विशेष पूजाआराधना गर्नुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष असोज २६ गते शनिबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः३६ को साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं मनाउने गर्छन । सिद्धिदात्री देवीको स्वरूप
मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ ।

सिद्धिदात्रीलाई नवदुर्गा गणकी अन्तिम अर्थात नवौं देवी भन्ने गरिन्छ । दुर्गा देवीका नौ नाम स्वयम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनु भएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।