जनता टाइम्स

२५ आश्विन २०८१, शुक्रबार १०:४९

कीर्तिपुर २ मा केन्द्रीय कार्यालय बनाउँदै एमाले, प्रधानमन्त्री ओलीबाट आज शिलान्यास


काठमाडौं, असोज २५ । नेकपा एमालेले काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर २ स्थित मैत्रीनगरमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्न सो भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले कीर्तिपुरमा मदन भण्डारी स्मृति भवनको नाममा स्थायी रुपमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

०७२ को विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ स्थित मदननगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालय ध्वस्त भएको थियो । त्यसयताका ९ वर्ष एमालेको पार्टी कार्यालय विभिन्न ठाउँमा भाडामा बस्दै आएको छ ।

एमालेको केन्द्रीय पार्टी कार्यालय धुम्बाराही, माइतीघर हुँदै अहिले च्यासलबाट सञ्चालन हुँदै आएको छ । आज शिलान्यास गरिने सो भवन आगामी बर्षको नवमीकै दिन उदघाटन गर्ने गरी काम सम्पन्न गरिने एमालेले जनाएको छ ।