जनता टाइम्स

२७ आश्विन २०८१, आईतवार १८:३८

मान्यजनबाट दशैंको टीका र जमरा थाप्ने क्रम जारी


काठमाडौं, असोज २७ । वडादशैंको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ । यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति भएपछिदेखि भने नवदुर्गाको प्रसाद लगाउने क्रम जारी राखिन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिँड्नेको सडकमा चहलपहल देखिन्छ । सार्वजनिक यातायातमा पनि आफन्तकहाँ टीका तथा जमरा लगाउन हिँडेका र लगाएर आएकाकै बाक्लो उपस्थिति देखिन्छ ।

यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दशैं मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो । महाअष्टमी एवं महानवमीका दिन शुक्रबार राजधानीमा चहलपहल कम देखिएको थियो । विजयादशमीपछि भने राजधानी बाहिर गएका पनि फर्कने क्रम बढ्ने भएकाले चहलपहल बढी देखिन्छ।