काठमाडौं, असोज २८ । आश्विन शुक्ल पक्षको द्वादशी, आज पनि नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ ।
विजयादशमी र एकादशीको दिन लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ । नवदुर्गा भवानीको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने-दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने गरिन्छ ।
कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैं पर्व अर्थात् दुर्गा पक्ष सकिन्छ । नेपालका पश्चिम भेगमा भने दशैंको दिन मात्र टीका थाप्ने प्रचलन छ ।
यसैबीच दशैंका लागि गाउँ पुगेकाहरू राजधानी काठमाडौंलगायत कर्मथलो शहर फर्किने क्रम सुरू भएको छ । आजदेखि बडादशैंको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन। यसले गर्दा काठमाडौंसँग जोडिएका मुख्य नाकामा यात्रु र सवारीको चाप ह्वात्तै बढेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्