जनता टाइम्स

२९ आश्विन २०८१, मंगलवार ०९:३३

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध


काठमाडौं, असोज २९ । मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेसँगै मुलुकभर चिसो बढेको छ । पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको कारण पनि चिसो बढेको हो ।

मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो ।

खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस हुन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । महााखाले काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको र पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको जनाएको छ ।

महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविदहरुका अनुसार दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको हो । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।