जनता टाइम्स

२९ आश्विन २०८१, मंगलवार १७:२४

आर्थिक सुधारका लागि माल्दिभ्सका राष्ट्रपतिले चाले कठोर कदम, ५० मन्त्री हटाउने घोषणा


काठमाडौं, असोज २९ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले आर्थिक सुधारका लागि कठोर कदम चाल्नुभएको छ । राष्ट्रपति मुइज्जूले १५ दिनभित्र विभिन्न मन्त्रालयमा भएको २२८ राजनीतिक नियुक्ति कटौती गर्न निर्देशन दिनुभएको छ ।

यसमा सात राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशक पनि पर्छन् । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘यसले सरकारी बजेटमा हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्सका मुद्रा) बचत हुनेछ ।’

राष्ट्रपति चुनावका क्रममा मोइज्जूले राजनीतिक नियुक्तिलाई ७ सयमा सिमित गर्ने बाचा गर्नुभएको थियो । तर राष्ट्रपति भएपछि दुई हजारभन्दा बढी राजनीतिक नियुक्ति रहेको विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को आरोप छ ।

यद्यपि अहिले कति राजनीतिक नियुक्ति छ भन्ने यकिन छैन, किनकी सरकारले सार्वजनिक गर्न अस्वीकार गरेको छ । तर मंगलबार राष्ट्रपति मोइज्जूले ठूलो संख्यामा राजनीतिक नियुक्त कटौती गर्ने घोषणा गर्नुभएको छ । विश्वबैंकले माल्दिभ्सको अर्थतन्त्र सुधार योजनाको प्रगति सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेको एक साता पनि यो घोषणा भएको हो ।

विश्व वैंकका अनुसार आर्थिक बृद्धिका बाबजुद बढ्दो सार्वजनिक ऋण, उच्च राजकीय खर्च र विशेषगरी सार्वजनिक क्षेत्रमा लगानी तथा अनुदान चिन्ताजनक छ । यो खर्च कम गर्न तत्काल आवश्यक कदम चाल्नुपर्ने विश्व बैंकको जोड छ ।