जनता टाइम्स

१ कार्तिक २०८१, बिहीबार १४:३०

कीर्तिपुरको जग्गाको ललिता निवाससँग कुनै साइनो छैन, एमालेलाई कमजोर पार्न लागेका तत्वले गलत प्रचार गरे : महासचिव पोखरेल


एमालेकै नेतृ डा. बिन्दा पाण्डेको नेतृत्वमा केन्द्रीय कार्यालय निर्माणको बिषयमा टिकाटिप्पणी भइरहेको बेला महासचिव पोखरेलले एमालेलाई कमजोर बनाउने तत्वले गलत प्रचार गरिरहेको बताउनु भयो ।

बाँके, कात्तिक ३०। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाटभटेनीका सञ्चालक ब्यवसायी मीनबहादुर गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको पार्टी कार्यालय निर्माण गर्न प्रदान गरिएको जग्गाको कुनै साइनो नरहेको प्रष्ट पार्नुभएको छ ।

बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले केन्द्रीय कार्यालय भवन निर्माणको बिषयलाई लिएर एमालेलाई कमजोर बनाउने तत्वले गलत प्रचार गरिरहेको बताउनु भयो । एमालेकै स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेको नेतृत्वमा केन्द्रीय कार्यालय निर्माणको बिषयमा टिकाटिप्पणी भइरहेको छ ।

महासचिव पोखरेलले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चार्यको विषय नभएको पनि बताउनु भयो । ‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौं,’ महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न पनि आग्रह गर्नुभयो ।  महासचिव पोखरेलले व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको बताउनुभयो ।

गुरुङले दान गर्नुभएको जग्गा एमालेले स्वीकार गरेको उहाँले स्पष्ट पार्नुभयो । ‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो, हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ’, उहाँले भन्नुभयो ।

मीनबहादुर गुरुङ सँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताउनुभयो । एमालेलेलाई कमजोर बनाउन चाहने तत्त्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ ।

एमाले माथि विगतदेखि नै घेराबन्दी र आक्रमण भएका बताउँदै पोखरेलले अहिले पनि एमाले माथि आक्रमण सुरु भएको बताउनुभयो । उहाँले पार्टीको नीति र नेतृत्व प्रति विश्वास गर्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘हाम्रो पार्टीको केन्द्रीय कार्यालय निर्माणको सन्दर्भमा एक जना व्यवसायीले गरेको सहयोगलाई आधार बनाएर पार्टी माथि आक्रमण गर्ने प्रयास भएको छ’, उहाँले भन्नुभयो ।

उहाँले नेपाली कांग्रेले पनि मैयाँदेवी श्रेष्ठले दिएको जग्गामा घर बनाएको स्मरण गराउनुभयो । त्यस्तै राप्रपाका घर पनि दाताले दिएका भए पनि त्यसको कुनै चर्चा हुने नगरेको उहाँले बताउनुभयो ।
उहाँले पार्टी समाजको संस्था भएकोले पार्टीलाई समाजभन्दा बाहिर राख्न नहुने बताउनुभयो । राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्ने उहाँको जिकिर छ । ‘पार्टी प्रति आस्था र विश्वास रहेका र कमाएकाले पार्टीलाई दिने हो’, उहाँले भन्नुभयो ।

एमालेका पार्टी सदस्यले दिएको सहयोग पनि पार्टी कार्यालयकै काममा खर्च हुने उहाँले बताउनुभयो । पार्टी कार्यकर्ताले गरेको सहयोग र दाताले दिएको सहयोग समेत जोडेर एमालेको सुविधा सम्पन्न अत्याधुनिक पार्टी कार्यालय बन्ने पोखरेलको भनाइ छ ।
मिसन २०८४ नेकपा एमालेको सर्वाधिक महत्वको विषय भएको उहाँले बताउनुभयो । राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्यको लागि आउने निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

देश बन्नको लागि नीतिगत नेतृत्वको खाँचो पर्ने उहाँले बताउनुभयो । दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व भएको अवस्थामा देश निर्माणको यात्रा सफल हुने उहाँको भनाइ छ । नेकपा एमाले मुलुकलाई यो सामर्थ्य तर्फ अघि बढाउने कुरामा स्पष्ट रहेको उहाँले बताउनुभयो ।

पार्टीमा युवालाई जोड्नु पर्ने बताउँदै पोखरेलले युवासँगको कामलाई पार्टीको प्राथमिकताको काममा राख्नु पर्ने बताउनुभयो । त्यस्तै महिलासँगको पार्टीको कामलाई पनि प्राथमिकतामा राख्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरेलले अहिलेको सरकार उच्च समझदारीमा बनेको सरकार भएको बताउँदै एमाले र कांग्रेसको उच्च नेतृत्वमा समझदारी हुँदासम्म सरकारमा कुनै समस्या नआउने बताउनुभयो । एउटा निश्चित उद्देश्यको लागि वर्तमान सरकार बनेकाले कसैले चाहँदैमा सरकारमा समस्या नआउने उहाँको धारणा छ ।