जनता टाइम्स

८ कार्तिक २०८१, बिहीबार ०९:४८

वडाध्यक्ष अमेरिका लुकेपछि ९ महिनादेखि नेतृत्वबिहीन वडा कार्यालयमा ताला


खोटाङ, कात्तिक ८ । अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो । उहाँ नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो ।

यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उहाँले राससलाई बताउनुभयो । वडाध्यक्ष कटवाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ ।