प्रकाश सिलवाल/काठमाडौं । तिहार बिदाको समयलाई सदुुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी पर्यटकहरु आफ्नै लयमा चन्द्रागिरी पहाड, चन्द्रागिरी रिशोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए ।
यही बीचमा त्यहाँ पुुग्नुुभएका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन गरेपछि केही पर्यटकको आग्रहमा तस्बिर खिचाउनु भयो । स्वदेसी र बिदेसी पर्यटकहरुसँग तस्विर खिचाएपछि प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाउनुु भयो ।
नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लागेको भन्ठाने । तर प्रधानमन्त्री ओली साहित्य सिर्जनातिर लाग्नुभएको रहेछ । त्यही कुर्सीमा उहाँले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनु भयो ।
‘चन्द्रागिरी प्रेमको प्रतीक
सतीदेवी भाल पतन
सर्वाेत्तम प्रेमकथा !’
साथमै रहनुुभएका प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचना वाचन गरेर सुनाउनुु भयो । चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिनुुभयो, ‘सम्माननीयज्यूू प्रायः चन्द्रागिरी आउँदा केही न केही लेख्नुहुन्छ । हामी धन्य छौं ।’
राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले धेरै पटक सार्वजनिक रुपमा भन्ने गर्नुभएको छ, ‘म कवि÷साहित्यकार होइन ।’ तर उहाँलाई गहिराइका साथ बुुझ्नेहरु भन्छन, ‘उहाँमा सृजनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ । उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असिमित हास्यरस पाइन्छ ।’
सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचना गर्भको हुटहुटीले तानिहाल्छ । यसअघि पनि दोस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७५ असार ३० गते चन्द्रागिरीमा मदन भण्डारी फाउण्डेसनअन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेख्नुुभएको थियो–
‘परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरीको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।’
त्यतिमात्र होइन, त्यसपछि २०७८ भदौ ४ गते ‘भिराडिल–चन्द्रागिरी जेसुम’ उत्सवमा चन्द्रागिरी पुगेर एमाले अध्यक्ष ओलीले अर्काे कबिता लेख्नुभयो । कविताका अंशहरु यस्ता थिए–
‘कतै इतिहास, कतै परम्परा
गौरव कतै, कतै पौरख
यहीँ चन्द्रागिरिका डाँडाहरूतिर
सतिदेवी बोकेर काँधमा शोकमग्न शिवजी
यहीँ बाटो भौँतारिएका थिए
जहाँ सतिदेवीको बाल अर्थात् निधार खस्यो
यहीँ चन्द्रागिरि हुँदै ३२ सय वर्ष अगाडि
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
त्यहाँ आवाद गर्न, थानकोट मातातीर्थ
यहीँ पृथ्वीनारायणले जुँगामा ताउ लगाएका थिए
लोभिँदै नजर फ्याँकेर उपत्यकातिर
नजिकै फाखेलको गाउँमा देवकोटाले
मानवताको बिगुल फुकेका थिए…।’
शुक्रवार पनि प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरी हिल्स रिसोर्टको आगन्तुुक पुस्तकमा पनि आफ्ना भावनाहरु अभिव्यक्त गर्नुभएको थियो । उहाँले लेख्नुुभएको छ, ‘काम गर्नेलाई नेपालमा अवसर छ । काम नगरेर कुरा मात्र गर्नेहरुलाई झन अवसरै अवसर छ । गर्नेलाई अवसर छ भन्ने कुराको दृष्टान्तमध्ये एउटा गतिलो उदाहरण चन्द्रागिरी हिल्स र चन्द्रप्रसाद ढकाल । चन्द्रागिरी हिल्स आइयो । हेर्नसम्म हेरियो । फूूर्सदले मनोरञ्जन लिइयो ।’
अध्यक्ष ढकालले राज्य र अन्य निकायको सहयोग पाएमा यस्ता पर्यटकीय पूर्वाधार मुलुकका साथै प्रदेशमा बनाउने योजना प्रधानमन्त्री ओलीलाई सुनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्