जनता टाइम्स

२ मंसिर २०८१, आईतवार २०:२५

रोटरी क्लव अफ काठमाडौं वेष्टद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग


काठमाडौं, मंसिर २ । रोटरी क्लव अफ काठमाडौं वेष्टले एक वृद्धआश्रमलाई खाद्यान्न सहयोग गरेको छ । आज दक्षिणकाली नगरपालिका–५ शेषनारायणस्थान फर्पिङमा रहेको ज्येष्ठ नागरिक स्याहार केन्द्रमा पुगेर रोटरीका अध्यक्ष देश कुमार श्रेष्ठले खाद्यान्न तथा भाँडाकुँडा सहयोग गर्नुभएको हो । रोटरी क्लव अफ काठमाडौं वेष्टमा रहेकाहरुले सङ्कलन गरेको खाद्यान्न र भाँडाकुडा उक्त वृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो ।

आफूहरुले दुख पाएकाहरुलाई रोटरी क्लव अफ काठमाडौं वेष्टले मल्हम लगाउँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘रोटरीमा आबद्ध सदस्यहरुले थोरै–थोरै रकम सङ्कलन गरेर समाजसेवामा जोडिएका हौं, हामीले विभिन्न क्षेत्रका रहेका/भएका समस्याहरुलाई समाधान गर्ने र दुखमा रहेकाहरुलाई मलमपट्टी लगाउने काम गर्दै आएका छौं ।’ उहाँले थप्नुभयो,‘आगामी दिनमा पनि यस स्थानमा आउँछु, म र मेरो परिवारकै जन्मदिन यहि वृद्धआश्रममा रहेका बाआमासँग मनाउँछु ।’

उहाँले यस धर्तीमा जन्मिएर आफूले समाजलाई केही दिनपर्ने भन्दै दुखीलाई ‘जसको केही छैन–जसको कोही छैन’ उहाँहरुलाई केही गर्नुपर्छ भनेर समाजसेवामा सक्रिय रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । आश्रममा रहेका वृद्धवृद्धालाई नियमित खानाका लागि सहयोग पुगोस् भनेर आफूहरुले खाद्यान्न, ग्यास र पकाउने भाँडाकुडा सहयोग गरिएको रोटरी क्लवका पूर्व अध्यक्ष रमेश मिलन श्रेष्ठले बताउनुभयो ।

ज्येष्ठ नागरिक स्याहार केन्द्र दक्षिणकालीद्वारा सञ्चालित वृद्धाश्रममा हाल ७ जना वृद्धा र १ जना वृद्ध गरी ८ जना वृद्धवृद्धा आश्रय लिएर बस्दै आउनुभएको छ । १२ वर्षअघि सञ्चालन भएको वृद्धआश्रममा धेरै वाआमाहरु आएको भएपनि कतिपय वृद्धवृद्धाहरु केही समय बसेर उहाँहरुको छोराछोरीले घरमा लगेको र केही वृद्धवृद्धा त्यहि आश्रममै वितेको आश्रमका अध्यक्ष सहदेव बलामीले बताउनुभयो । यो वर्ष मात्रै ५ जना वृद्धवृद्धाहरु आश्रममा नै वित्नुभएको उहाँले सुनाउनुभयो ।

रोटरीले दिएको चामल, दाल, तेल, नुन, विस्कुट, जुस, खाना पकाउने इलेक्ट्रिक (इन्डक्सन) चुलो, पकाउने भाँडाकुँडा (प्रेसर कुकर) ग्रहण गर्नु हुँदै बलामीले भन्नुभयो,‘तपाईहरु जस्तै सबैको सहयोगले वृद्धाश्रम सञ्चालनमा सहज भएको छ, १२ वर्ष वितेको पनि पत्तै भएको छैन ।’ विभिन्न दाताहरुको सहयोगले वृद्धवृद्धाको दैनिकीमा ठूलो सहयोग पुगेको बलामीको भनाइ छ । अनाथ र असहाय वृद्धवृद्धाका लागि वृद्धाश्रम जीवनको अन्तिम क्षण बिताउने थलो बनेको भन्दै उहाँले जसको कोही छैन, जसको केही छैन उहाँलाई वृद्धाश्रम खाली रहेको पनि बताउनुभयो ।

वृद्धआश्रममा खाना बास तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको आश्रमले जनाएको छ । आश्रममा नर्स बीना तुलाधरले वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्दै आउनुभएको छ । त्यस्तै वृद्धबृद्धाहरुलाई सहयोग गर्नु मानवीय दायित्व भएको रोटरी क्लव अफ काठमाडौं वेष्टका पूर्व अध्यक्ष किरणकृष्ण जोशीले बताउनुभयो । रोटरीले सहयोग गरेपछि वृद्धाश्रममा बसिरहनुभएको वृद्धवृद्धाहरु भने खुसी हुनुभएको छ । जेष्ठ नागरिकहरुका लागि सेवा अर्पण कार्यक्रममा सर्भिस कमिटिका अध्यक्ष बाबुराजा श्रेष्ठ, रोटरी क्लबका सचिव केदारमान सिंह, सदस्यहरू मिलन श्रेष्ठ, श्रीकृष्ण दाहाल र यसिमा महतलगायतको उपस्थिति थियो ।