काठमडौं, पुस ९। अनुतिर्ण (फेल) भएका विद्यार्थी पनि दीक्षित भएपछि काठमाडौं विश्वविद्यालय (केयू) ले छानबिन समिति बनाएको छ।
केयूको गत २९ मंसिरमा भएको दीक्षान्त समारोहमा स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत डिग्री पूर्ण नभएका र बीचमै अध्ययन छाडेर गएका समेत फेल भएका ८ जना विद्यार्थीहरूको नाम ग्रेसलिस्टमा परेपछि पुस ७ गतेकै मितिमा छानबिन समिति बनाइएको हो। स्कुल अफ ल का प्राडा हृषिकेश वाग्लेको संयोजकत्वमा समिति बनाइएको केयूले जनाएको छ।
समितिमा पूर्वपरीक्षा नियन्त्रक प्राडा पन्ना थापा र पूर्वपरीक्षा सहनियन्त्रक वीरेन्द्रबहादुर लाखे सदस्य रहनुभएको छ । सो समितिलाई प्रतिवेदन पेस गर्न एक साताको समय दिइएको छ।
परीक्षा समितिका अध्यक्ष तथा रजिस्ट्रार प्राडा अच्युत वाग्लेले आन्तरिक अनुसन्धान गर्न निर्देशन दिनुभएको बताउनु भएको छ । ‘मानवीय कजोरीले इन्ट्री गर्नेबेलामा त्रुटि भएको हो । इन्ट्री गर्नेले त्रुटि स्वीकार गर्नुभएको छ । थप अनुसन्धान गर्न समिति बनाएका हौँ,’ रजिस्ट्रार वाग्लेले भन्नुभयो, ‘ग्रेसलिस्टमा परेको मात्र हो । सर्टिफिकेट लगेको छैन । ग्रेसलिस्ट सच्याउनुपर्छ ।’
परीक्षा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत सीएन खड्काले आफ्नो गल्ती स्वीकार गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्