जनता टाइम्स

८ फाल्गुन २०८१, बिहीबार १२:५१

एमाले सचिव योगेशको ठोकुवा : पूर्वराजा ज्ञानेन्द्रकै कारण मरिसेकेको राजतन्त्र अव फर्कन सक्दैन


सुर्खेत, फागुन ८ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालको नियमन आवश्यक रहेको तथ्य औंल्याउनु भएको छ ।

प्रेस चौतारी नेपाल सुर्खेतले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका एमाले सचिव भट्टराईले तथ्यसहित नियमन आवश्यक रहेको यथार्थ औंल्याउनु भएको हो ।

सचिव भट्टराईले नेपालमा डिजिटल प्लेटफर्महरू कानुन अनुसार दर्ता गरेर सञ्चालन गर्नुपर्ने बिषयलाई समेत बिवाद झिक्नेहरुको नियतमाथि पनि प्रश्न उठाउनु भयो । ‘सवै देशमा सामाजिक सञ्जाल नियमन गर्ने कानून बन्दा स्वीकार्य हुन्छ । तर नेपालमा मात्रै छाडा हुनु हुँदैन, देश सानो, ठुलो हुनसक्छ तर आचरण सबैले पालना गर्नुपर्छ’, भट्टराईले भन्नुभयो ।

पत्रकार भेटघाटमा बोल्दै भट्टराईले कर्णालीको विकास सरकारको पहिलो प्राथमिकतामा रहेको पनि बताउनु भयो । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार, कर्णालीका जलविद्युत आयोजना, पर्यटन र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो ।

अहिले राजा फर्काउने भन्दै केही पश्चगमनकारीहरु लागिरहेका बताउँदै एमाले नेता भट्टराईले नेपालमा राजतन्त्र समाप्त हुनुमा स्वयं पूर्वराजा ज्ञानेन्द्रकै हात रहेको स्पष्ट पार्नुभयो । ‘राजतन्त्रको अन्त्य हामीले गरेको होइन, स्वयं पूर्वराजा ज्ञानेन्द्रले नै गरेका हुन । ज्ञानेन्द्रले नै राजतन्त्र अन्त्यको आधार तयार गरेका हुन, अब मरिसेकेको राजतन्त्र ब्यूँझिएर फर्कन सक्दैन’, उहाँले भन्नुभयो ।