काठमाडौं, २२ फागुन । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूलाई काम गर्न नदिएको भन्दै सिंहदरबारमा गुनासो गर्नुभएको छ।
काठमाडौँ महानगरपालिकाले आफूलाई काम गर्न नदिएको भन्दै बुधबार सिंहदरबारस्थित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा निवेदन दिनुभएको छ । उहाँले आफूमाथि बिनाआधार छानबिनका नाममा मानसिक तनाव दिएको कुरा पनि मन्त्रालयका अधिकारीहरूसँग दुःखेसो पोख्नुभएको छ । गत भदौ २७ गते काठमाडौँ महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा सरुवा भएका सहसचिव गुरागाईं असोज ७ गते त्यहाँ हाजिर हुनुभएको थियो । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यु टावरको प्रक्रिया पूरा नगरी नक्सा स्वीकृत गरेको आरोप लगाउँदै पुस ५ गते महानगरपालिकाले कारबाही गर्न सिफारिस गर्यो।
सो आरोपमाथि छानबिन गर्न महानगरले कानुनी सल्लाहकार एवं पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। तर, पौडेलले पारिवारिक कारण देखाउँदै छानबिन समितिबाट बीचैमा राजीनामा दिनुभयो । त्यसपछि समितिको संयोजकको जिम्मेवारी पूर्वसचिव शंकर पाण्डेलाई दिइयो। महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी र महानगरकै कानुनी सल्लाहकार महेश नेपाल सदस्य हुनुहुन्थ्यो। समितिलाई प्रतिवेदन दिन एक महिनाको कार्यावधि तोकिएको थियो। उक्त म्यादभित्र प्रतिवेदन दिन नसकेपछि महानगर प्रमुख बालेन्द्र शाह ले उक्त समिति विघटन गरी महानगरकै अधिकारीहरूलाई विभागीय राय पेस गर्न आदेश गर्नुभएको थियो ।
महानगरका सहरी व्यवस्थापन विभाग प्रमुख हरिश्चन्द्र लामिछाने, कानुन तथा मानव अधिकार विभाग प्रमुख वसन्त आचार्य र सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले दिएको ६ पाने राय बालेनले सिंहदरबार पठाउनुभएको छ । बालेनले अर्को प्रशासकीय अधिकृत पठाइदिन पटकपटक पत्राचार गरे पनि मन्त्रालयले भने एउटा कर्मचारी हुँदाहुँदै त्यही ठाउँमा अर्को पठाउन नमिल्ने जवाफ दिइरहेको छ। पुस ५ यता काठमाडौँ महानगर प्रशासकीय नेतृत्वविहीन छ। गुरागाईँ त्यसयता बिदामा बस्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्