जनता टाइम्स

२२ फाल्गुन २०८१, बिहीबार १०:२६

बलात्कार अभियोगमा पक्राउ परे नेकपा एसका जिल्ला अध्यक्ष


काठमाडौं, फागुन २२ । पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बलात्कार अभियोगमा पक्राउ परेका छन ।

नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरीलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको हो । नेकपा एसको गण्डकी प्रदेश उपाध्यक्षसमेत रहनुभएका गिरीलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यही फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको अनुमति पाएपछि घरबाटै गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरीले घटनाको प्रकृति भने खुलाएको छैन । गिरीमाथि पटक पटक बलात्कार गरेको अभियोग रहेको छ ।