जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १७:२८

सरकारले गरायो लोककल्याणकारी राज्यको अनुभुति : बिदेशमा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहायता


काठमाडौं, कात्तिक १३ । सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार बोर्डले बैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपाली कामदारका आफन्तलाई आर्थिक सहायता उपलब्ध गराएको हो ।

बोर्डका अनुसार गत साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले प्रतिमृतकका परिवारलाई सात लाख रुपैयाका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

चालु तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा बिरामी भएका ९८ कामदारको परिवारलाई पनि आर्थिक सहायता उपलब्ध गराइएको छ । त्यस्तै कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको छ । कामदारको परिवारको सदस्यलाई क्यान्सर, मिर्गौला, मुटु, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । बोर्डले सामान्य अवस्थाका बिरामीलाई रु १५ हजार, मध्यम अवस्थाका बिरामीलाई ३० हजार र गम्भीर अवस्था भएमा प्रतिव्यक्ति ५० हजार रुपैया आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेर विदेशी भूमिमा अलपत्र परेका १८ कामदारको उद्दारका लागि सम्बन्धित नियोगमा पत्राचार गरिएको बोर्डले जनाएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ४१ कामदारको शव झिकाउन पत्राचार गरिएको छ ।
सो अवधिमा बोर्डले १८४ कामदारको शव मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गरेको छ । बोर्ड सचिवालयले मृतक कामदारको शव निजको नजिकको हकवालाले दिएको निवेदनअनुसार घर ठेगानासम्म ढुवानी गर्दै आएको छ । वैदेशिक रोजगार नियमावाली, २०४६ (तेस्रो संशोधन)ले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कामदारको शव त्रिभुवन विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान पनि बोर्डले सहयोग गर्दै आएको छ