काठमाडौं, १२ जेठ । सोमबार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बिच एकता भयो ।
दुई पार्टी बिच एकता भन्दै हल्लाखल्ला पनि ठुलै भयो । कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अघि बढाएको उद्घोष पनि गर्नुभयो । दुई पार्टी बिच एकताको सन्देश पनि गयो ।
वास्तविकता भने प्रचार गरिएजस्तो होइन । तीन वर्ष अघि नै माओवादी बनिसकेका माओवादी नेता गङ्गानारायण श्रेष्ठलाई औपचारिक रूपमा माओवादी पार्टीमा भित्र्याइएको हो । माओवादी नेता गङ्गानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किनु भएको हो ।
२०७२ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराई माओवादी पार्टीबाट अलग हुनुभयो । भट्टराईसँग गङ्गानारायण पनि पार्टीबाट अलग्गिनुभयो ।
बाबुरामले गठन गर्नुभएको नयाँ शक्ति नेपाल, संघीय समाजवादी, जसपा नेपाल हुँदै २०७९ सालमा भट्टराईकै नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन भयो । बाबुराम जता जता जानुभयो, गङ्गा पनि त्यतै जानुभयो ।
२०७९ को निर्वाचनमा गङ्गानारायण माओवादीको साथ, सहयोग र समर्थनमा माओवादीकै चुनाव चिन्ह लिएर वाग्मती प्रदेश सभा सदस्यमा चुनाव लड्नुभयो । चुनावपछि पार्टी एकता गर्ने पूर्वसहमतिमा माओवादीले गङ्गानारायणलाई आफ्नै चुनाव चिन्हमा चुनाव लडाएको थियो । तर चुनावमा आफ्नी छोरी काठमाडौंमा पराजित भएपछि बाबुराम भट्टराईले प्रचण्डसँग पार्टी एकता गर्न चाहनु भएन । गोरखामा आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छाडेर काठमाडौंबाट छोरी मानुषीलाई चुनाव जिताई राजनीतिमा स्थापित गराउने आकाङ्क्षा पुरा नभएपछि प्रचण्डसँग बाबुराम भड्किनुभयो । बाबुराम भड्किएपछि गङ्गानारायणको माओवादीमा प्रवेश गर्ने बाटोमा अवरोध खडा भएको थियो ।
भट्टराई माओवादीसँग नमिल्ने भएपछि अध्यक्ष महिन्द्र राय यादवलाई साथ लिएर गङ्गानारायणले २०८० चैत ३ गते माओवादीसँग पार्टी एकता गर्ने तीन बुँदे सहमति गराउनुभयो । तर महिन्द्र राय पनि एकता प्रक्रियाबाट पछि हट्नुभयो ।
माओवादी प्रवेश गर्ने बाटो फेरी रोकिएपछि श्रेष्ठले आइतबार पार्टी पुनर्गठन गरेको घोषणा गर्नुभयो र आज माओवादी पार्टी कार्यालयमा गएर पार्टी एकताको नाममा माओवादी पार्टीमा प्रवेश गर्नुभयो । पार्टीका १७ केन्द्रीय कार्यकारिणी सदस्य र केन्द्रीय सदस्य सहित माओवादीमा एकीकृत भएको श्रेष्ठको दाबी छ । पार्टी एकताको नाम दिइए पनि गङ्गानारायण एकल प्रयासमा माओवादी पार्टीमा प्रवेश गर्नुभएको हो । वाग्मती प्रदेश सभामा माओवादीकै कोटाबाट सांसद र मन्त्री समेत बनिसक्नु भएका श्रेष्ठ माओवादीमा फर्कनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्