जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार ०७:०८

बाढीले महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बगायो


नवलपरासीं, १६ जेठ ।  पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको छ ।जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प छ । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम शुक्रबार बिहानबाट सुरु भएको उहाँले बताउनुभयो । बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । त्यहाँ बाढीले तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ ।फिल्डमा खटिएका ट्राफिक प्रहरीका सई तीर्थ भुसालका अनुसार बिहान सवा २ बजेबाट राजमार्गको यातायात ठप्प छ । राजमार्ग खुलाउन त्यहाँ काम भइरहेपनि रातभरिको वर्षातका कारण कठिनाइ भएको छ ।

पूर्वी नवलपरासी अन्तर्गत दुम्किबासस्थित विनयी खोलामा बिहीबार रातिको बाढीले वैकल्पिक सडक बगाइदिएको छ । लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको पिकअप भ्यान बाढीले बगाएको भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार मानवीय क्षति भने भएको छैन ।त्यसैगरि महेन्द्र राजमार्ग अन्तर्गत चोरामाराको फलामे पुल भाँच्चिएपछि निर्माण गरिएको अस्थायी सडक बगाएको छ । उता दुम्किबासस्थित विनयी खोला पुल भाँच्चिदा निर्माण गरिएको डाइभर्सन बगाएका कारण हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन् । दाउन्ने र आसपासको क्षेत्रमा बिहीबार रातभरि हल्का वर्षात भएको थियो । महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम छुटेका सयौँ सवारी साधन चोरमारा र बर्दघाटमा रोकिएका छन् ।