जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार ११:४१

नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार  सङ्घ (नाफिज) ले शनिबार काठमाडौँमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्त्वपूर्ण र ऐतिहासिक भएको छ,’ उनले भने, ‘समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको छ ।’ राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधैँ सरकारको साथमा रहेको उनले बताए ।

अब साधन स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बजेटमा आएका कुराहरूलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।  उनले खनिजजन्य र नदीजन्य पदार्थको उत्खननमा पनि ध्यान दिनु पर्ने आवश्यकता  रहेको बताए । केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ ।

यस्तै, पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टिडिएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।