जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार १७:००

गणतन्त्रबारे प्रश्न उठाउने समय भएको थिएन : नेतृ झाँक्री


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रबारे प्रश्न उठाउने समय नभएको बताएकी छन् । ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा झाँक्रीले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताएकी हुन् । उनले गणतन्त्र ल्याउँदा आफूहरूले गरेका प्रतिबद्धताका बारेमा बुझाइहरू एउटै नभएको पनि बताइन् ।

नेतृ झाँक्रीले भनिन्, ‘गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ । गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन । तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिबद्धताका बारेमा हाम्रा बुझाइहरू एउटै थिएनन् । गणतन्त्रलाई यस्तो विवादित बनाइयो । यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्ने कुरा जिम्मेवारीबोध हामीले कम महसुस गर्‍यौँ की । तिलस्मी सपनाहरू बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ की ?’ नेतृ झाँक्रीले सम्भव नहुने सपना बाँड्न नहुने बताइन् ।