जनता टाइम्स

२२ जेष्ठ २०८२, बिहीबार १७:१६

 माधव नेपाल विरुद्धको मुद्दा राजनीतिक प्रतिशोध : राजेन्द्र पाण्डे


काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधको आधारमा सो पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि मुद्दा दर्ता गरेको आरोप लगाएका छन् ।

पार्टी अध्यक्ष माधव नेपाल विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि बिहीबार सञ्चारकर्मीहरुकोसँगको कुराकानीमा उहाँले अध्यक्ष नेपालले जग्गा खरिद विक्री प्रकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध नगरेको दाबी गर्नुभयो ।  ‘जग्गा खरिद विक्री प्रकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध भएको जस्तो लाग्दैन, यति बेला यो घटना जन्मनु, आउँदो २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला पनि हुनु अनि यही छोटो अवधिमा के–के गर्नुपर्ने गरी भ्याउनुपर्ने बाध्यता भएकाले नै यो सबै भएको हो कि जस्तो लाग्छ, यो राजनीतिक प्रतिशोध नै हो’, उहाँले भन्नुभयो ।

गिरीबन्धु टी स्टेटमा पनि यस्तै नीतिगत निर्णय भएको बताउँदै उहाँले नीतिगत निर्णयलाई यसै गरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेका विरुद्ध मुद्दा लाग्ने बताउनुभयो ।

अख्तियारले पतञ्जली योग पीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।