भक्तपुर, २२ जेठ । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अहिले सूचना प्रवह कम र व्यापार बढी भएको बताउनुभएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै रिजालले नेपालका मूलधारका सञ्चारमाध्यमले समेत तथ्य कम प्रोपोगाण्डा बढी गर्ने गरेका बताउँदै उहाँले नेपाली पत्रकारितामा निष्पक्षता कम र मिसन बढी भएको बताउनुभयो । ‘अहिले नेपाली पत्रकारितामा सूचनाको प्रयोग कम, दुरुपयोग बढी हुने गरेको छ’, उहाँले भन्नुभयो ।
उहाँले दलीय व्यवस्थामा राजनीतिक दलका कार्यकर्ता हुने बताउँदै राजनीतिक दलका कार्यकर्तालाई अनावश्यक लान्छाना लगाउनु गलत भएको बताउनुभयो । पार्टीका नेता कार्यकर्तालाई निरुत्साहित गर्न अनेक प्रयास भइरहेका बताउँदै उहाँले त्यसबाट विचलित नहुन आग्रह गर्नुभयो ।
उहाँले अहिले मिस इन्फरमेसन मात्र होइन डिस इन्फरमेसन प्रवाह गर्ने प्रयत्न हुने गरेको बताउनुभयो । सूचना कहिलेकाहीँ गलत हुनसक्ने बताउँदै तर अहिले एमालेका विरुद्ध सुनियोजित भ्रामक समाचार प्रवाह गर्ने गरिएको रिजालको भनाई छ ।
सामाजिक सञ्जालको प्रयोगले अहिले ज्ञान सस्तो भएको भए पनि त्यसको दुरुपयोग त्यतिकै बढेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल चुनौती र अवसर दुवै भएको उहाँले सुनाउनुभयो । सामाजिक सञ्जाललाई जनताको पक्षमा, देशको पक्षमा र पार्टीको पक्षमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
रिजालले राजनीति गर्नेले लामो सोच राख्नु पर्ने बताउनुभयो । छोटो सपना देख्नेको सपनाको आयु पनि छोटै हुने उहाँको धारणा छ । लोकप्रियतावादमा विश्वास गर्नेहरूको अवस्था यस्तै हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्