रामेछाप, २४ जेठ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका मंसिरे र पात्लेमा यतिबेला कम्ता खुसी छैनन् ।
आफ्नै घरको आँगनमा चिटिक्क परेका खानेपानीको धारा बनेर पानी झरे पछि ती बस्तीमा खुसीयाली छाएको छ । गएको वर्षामा आएको बाढी पहिरोले गाउँमा क्षति पुर्याएपछि अमिलिएको स्थानीय मनमा बिस्तारै उठेका भौतिक संरचनाले खुसीयाली थप्दै गएको छ ।
गएको भदौ र असोज महिनामा शैलुङ क्षेत्रमा ठुलो पानी पर्यो । वर्षाको कारण आएको बाढी पहिरोले गाउँमा ठुलो क्षति भयो । धेरै घर भत्किए । खानेपानीको योजना बगे, पुल बग्यो, बाटो बिग्रियो । ‘पुरै गाउँ नै क्षत विक्षत भयो, बस्ती नै उठेर पाल हालेर सामूहिक रूपमा बस्नु पर्ने अवस्था आयो’, सो वडाका वडा सदस्य मङ्गलेले भन्नुभयो ।
बाढी पहिराले आहत भएको बस्तीका लागि राहत र सहयोग खोज्ने काम सुरु भयो । त्यही क्रममा गोर्खा ब्रिटिस ( कादुरी संस्था ) सहयोगी बनेर आइपुग्यो । सो संस्थाले गाउँमा पहिरोले बगाएको झोलुङ्गे पुल र खानेपानी योजना बनाइदिने भयो ।
सो संस्थाको आर्थिक सहयोग र स्थानीयको श्रमदान समेत जुटाएर डडुवाको पात्ले र मङ्सिरे क्षेत्रलाई समेट्ने गरी खानेपानी योजनाको काम सुरु भयो । रात दिन नभनी खटेर केही महिना भित्रै मेहनती स्थानीयल खानेपानी योजनाको काम सम्पन्न गरे । गाउँको सिरानमा ठुलो ट्याङ्की बन्यो, घर घरमा चिटिक्क परेका धारा बने ।
करिब १ करोड ६८ लाख रुपैँयाको लगानीमा दुईवटा बस्तीका तीनवटा गुम्बा, एक विद्यालय सहित ९८ घर धुरीमा एक घर एक धारो पुग्यो । अहिले गाउँमा ९८ वटा धाराबाट एकैसाथ खानेपानी झरेको छ ।
सम्पन्न भएको खानेपानी योजनाको गोर्खा ब्रिटिस कादुरी संस्थाका डाइरेक्टर इन्ड्रोमिल्स र योजना प्रबन्धक देवाङ राईले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष प्रेम लामा, स्थानीय समुदाय लगायतको उल्लेख्य उपस्थिति थियो । घरघरमा पानीको धारो झरेपछि गाउँले अरू उत्साहित भएका छन् । गएको वर्षको पीडा बिस्तारै भुल्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्