जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार ११:४४

भोलिदेखि तापक्रम घट्ने


काठमाडौं ।  तराई र भित्री मधेसमा गर्मी छँदैथियो। काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा पनि हफहफी गर्मी महसुसन हुन थालेको छ। अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले दुई दिन (मंगलबार र बुधबार) विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पश्चिम तराईका केही केन्द्रको तापक्रम ४० डिग्रीबाट उकालो लागेको थियो।

त्यसैले त्यहाँ अत्यधिक गर्मी महसुस भएको थियो। सोमबार नेपालगञ्जको अधिकतमक तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो। त्यस्तै धनगढीको ४०.२, भैरहवाको ४०.० डिग्री सेल्सियस पुगेको थियो। काठमाडौंको अधिकतमत तापक्रम ३१.६ डिग्री पुगेको थियो। महाशाखाका अनुसार यस्तो शरीर नै बफ्याउने गर्मीमा आज धेरै फरेबदल आउने सम्भावना छैन। बुधबारबाट भने क्रमशः गिरावट आउने छ। महाशाखाका मौसमविद् विनु महर्जनले सोमबारको तुलनामा मंगलबार तापक्रममा धेरै फेरबदल नआउने बताइन्। बुधबार थोरै घट्ने र बिहीबारबाट गर्मीबाट राहत मिल्ने बताइन्।

‘बिहीबारदेखि मनसुनी वायुको पनि प्रभाव बढ्ने देखिन्छ। त्यसले गर्दा वर्षात हुने र गर्मी घट्ने देखिन्छ। भोलिदेखि तापक्रममा गिरावट त आउँछ तर गर्मीबाट राहत भने बिहीबारबाट मात्रै मिल्नेछ,’ उनले भनिन्। विभागका अनुसार मंगलबार नेपालगञ्जको अधिकतम तापक्रम ३९–४१, भैरहवाका ३९–४१, धनगढीको ३९–४१, दाङको ३९–४१, विराटनगरको ३६–३८, दिपायलको ३७–३९, घोराहीको ३५–३७, वीरगञ्जको ३६–३८, धरानको ३५–३७, सिमराको ३६–३८ ४०.० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

मंगलबार ताप्लेजुङ, धनकुटा, जिरी, पोखरा, वीरेन्द्रनगर लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ। यसैले यी सहरहरूमा गर्मीबाट थोरै राहत मिल्नेछ। मौसमविद् विनोद पोखरेलले पनि मंगलबार झन् बढी गर्मी हुने बताएका छन्। मौसमविद् पोखरेलले मंगलबार १–२ डिग्री अझ बढ्ने सम्भावना देखाएका छन्। विभागले पनि मंगलबार धनगढी, नेपालगञ्ज र भैरहवामा ४१ डिग्रीसम्म तापक्रम पुग्न सक्ने प्रक्षेपण गरेको छ।

मौसमविद पोखरेलले बुधबारदेखि तापक्रम घट्ने बताएका छन्। बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मी कम हुने उनको प्रक्षेपण छ। मौसमविद पोखरेलले बुधबारदेखि तापक्रम घट्ने बताएका छन्। बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मीबाट राहत मिल्ने उनको प्रक्षेपण छ।

सोमबार राति सुदूरपश्चिम र गण्डकीमा वर्षा गराउने बादल सक्रिय भएकाले उल्लेख्य पानी परेको थियो। त्यो बादल उत्तरतिर सरिरहेकाले अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा म्याग्दीको मुना केन्द्रमा ३.६ मिलिमिटर वर्षा भएको छ।nतनहुँको दमौली केन्द्रमा पनि वर्षा मापन भएको छ। बागमती प्रदेशका केही केन्द्रमा हल्का वर्षा भएको छ। भक्तपुरको नगरकोट केन्द्रमा वर्षा मापन भएको छ।

यसपालि सरदरभन्दा १५ दिनअगावै (जेठ १५ गते राति) नै मनसुन नेपाल भित्रिए पनि विस्तारित हुन भने सकेको छैन। मनसुनी वायु कमजोर हुँदा त्यसले पश्चिमी वायुलाई विस्थापन गर्न सकेको छैन। बंगालको खाडीमा न्यूनचापीय प्रणाली नबन्दा मनसुनी वायु सक्रिय हुन नसकेको हो।