जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार २२:२०

यसरी घाेषणा गरियाे चिसापानीलाई बालमैत्री वडा 


रामेछाप, २८ जेठ  । मन्थली नगरपालिकाका सबै वडा बालमैत्री शासन सञ्चालन भएका वडा घोषणा भएका छन् ।

जिल्लाका १४ वटै वडामा बुधबार अलग अलग कार्यक्रम गरी बालमैत्री शासन सञ्चालन भएका वडा घोषणा गरिएको हो । कार्यक्रममा बालमैत्री शासनका मापदण्ड पालना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

मन्थली नगरपालिका– ८ को चिसापानीले पनि विशेष कार्यक्रम आयोजना गरी बालमैत्री शासन सञ्चालन भएको वडा घोषणा गरेको छ । वडाध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सो वडालाई बालमैत्री शासन सञ्चालन भएको वडा घोषणा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले बालमैत्री नगर बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । मन्थली नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतमा राखेर नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने अभियानमा काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष गोपाल श्रेष्ठले चिसापानीलाई हरेक हिसाबले १ नं वडा बनाउने अभियानमा आफूहरू लागेको बताउनुभयो । हिजोको विरासतलाई जोगाउन पनि आफूहरूले सो काम गर्नु पर्ने उहाँको भनाइ छ । यसमा सबैलाई सहयोग र सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो । चिसापानीको संस्कार र संस्कृतिको संरक्षण गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा स्थानीय राजनीतिक दलका नेताहरू, शिक्षक, स्थानीय सामाजिक अगुवाहरूले बालमैत्री वडालाई निरन्तरता दिन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले स्थानीय कला, संस्कार, संस्कृति समेटिएका विभिन्न नृत्य तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्नुभएको थियो । वडा कार्यालयबाट निस्किएको र्‍याली भिमसेनस्थानमा पुगेर घोषणा सभामा परिणत भएको थियो ।