जनता टाइम्स

३१ जेष्ठ २०८२, शनिबार ०८:०८

अनेरास्ववियु महाधिवेशनको सन्देश : देश हाँक्न सक्षम बन्दैछन पढेलेखेका युवा


यो महाधिवेशनले देखाएको छ कि देशको भावी राजनीतिमा निर्णायक भूमिका खेल्ने युवा अब नारामा सीमित छैनन् । तिनको लक्ष्य अब नेतृत्व, नीति निर्माण र संस्थागत परिवर्तनतिर छ । त्यो परिवर्तन केवल सम्भावना मात्र होइन, क्रमशः यथार्थ बन्दै गएको छ ।

नवराज पथिक

नेपालको समकालीन राजनीतिमा युवाको उपस्थितिको सन्दर्भ उठ्दा धेरैजसो निराशाजनक चित्र कोरिन्छ । ‘राजनीति गन्हाएको छ’, ‘राजनीति अपराधीकरण भयो’, ‘युवा राजनीतिबाट टाढा छन्’ जस्ता धारणा सार्वजनिक बहसमा छन् ।

यस्ता टिप्पणीले राजनीतिको गहिरो निराशा झल्काउँछ । तर, यथार्थ सधैँ प्रचारले देखाएको जस्तो छैन । अनेरास्ववियुको  शुक्रबार सम्पन्न २४ औँ राष्ट्रिय महाधिवेशनले यो टिप्पणीको उल्टो दृश्य देखाएको छ–नेपालमा पढेलेखेका, दक्ष र प्रतिबद्ध युवाको राजनीतिप्रति आकर्षण अझै जीवित छ,  बढ्दो छ ।

महाधिवेशनको क्रममा कीर्तिपुरमा देशभरबाट हजारौँ युवा भेला भए । यो महाधिवेशन केवल परम्परागत विद्यार्थी नेताहरूको जमघट थिएन, यो त राजनीति, नेतृत्व र समर्पणको भावनाले प्रेरित नयाँ पुस्ताको शक्तिशाली प्रस्तुति थियो ।

विशेष कुरा के छ भने–महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र नेतृत्वमा आउन सफल हुने धेरैजसो युवा विभिन्न पेसागत पृष्ठभूमिबाट आएका छन् । डाक्टर, इञ्जिनियर, वकिल, नर्स, व्यवस्थापक, पत्रकार, कलाकार जस्ता व्यक्तिहरूको उल्लेख्य उपस्थिति महाधिवेशनमा थियो । यो उपस्थितिमा मात्र सीमित रहेन नेतृत्वमा समेत सबै पढेलेखेका एक सय एक युवा आएका छन् । जसले देखाउँछ कि अब राजनीति केवल उचालिएका कार्यकर्ताको विषय रहेन, यो पढेलेखेका, बुझ्ने र परिवर्तन गर्न सक्ने क्षमतायुक्त युवाको पनि विषय बनेको छ ।

डाक्टरहरूको सक्रियता र नेतृत्वमा उदय

राजनीति र चिकित्सा जस्तो पेसा सामान्यतया एक अर्काबाट टाढा रहने मानिन्छ । प्राविधिकले राजनीति गर्दैनन् भन्ने भाष्य निर्माण भएको छ । तर, यो महाधिवेशनमा चिकित्सकहरूको उपस्थिति उल्लेखनीय थियो । महाधिवेशनमा चार जना डाक्टरहरूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुभयो । तिनमा तीन जना डाक्टरहरू–डा.सुजन कडरिया, डा. पुष्पराज भाम र डा. प्रवीण भुसाल निर्वाचित हुन सफल हुनुभयो ।

डा. सुजन कडरिया संगठनको अध्यक्षमा निर्वाचित हुनुभएको छ । रामेछापका कडरिया चिकित्सा क्षेत्रमा मात्र होइन, जनताको प्रत्यक्ष सेवामा पनि लामो समयदेखि क्रियाशील हुनुहुन्छ । विशेषगरी ग्रामीण क्षेत्रमा गएर विपद्मा परेका नागरिकको निःशुल्क उपचार गर्दै आउनुभएको अनुभवले उहाँलाई नेतृत्वमा गहिरो सामाजिक दृष्टिकोण भएको पात्रका रूपमा स्थापित गरेको छ । उहाँको नेतृत्वले अब अनेरास्ववियुमा केवल राजनीतिक कार्यदिशा मात्र होइन, सामाजिक उत्तरदायित्वका सवाल पनि केन्द्रमा आउने अपेक्षा गर्न सकिन्छ ।

त्यस्तै, सचिवालय सदस्यमा निर्वाचित डा. पुष्पराज भाम र केन्द्रीय सदस्यमा निर्वाचित डा. प्रवीण भुसाल पनि चिकित्सा पेसाबाट राजनीतिमा प्रवेश गर्ने नयाँ पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ । यस्ता व्यक्तिहरूको सहभागिताले राजनीतिलाई सेवा र नैतिकताको नयाँ दृष्टिकोणबाट परिभाषित गर्ने छ ।

इञ्जिनियरहरूको व्यापक सहभागिता

इञ्जिनियरलाई हामी सामान्यतया योजनाकार, निर्माण विशेषज्ञ वा विकास परियोजनाका प्राविधिकका रूपमा बुझ्ने गर्छौँ । तर, यो महाधिवेशनमा ३१ जना इञ्जिनियरले नेतृत्वका लागि उम्मेदवारी दिए, जसमा १३ जना निर्वाचित हुनुभयो । यो आफैँमा एउटा महत्त्वपूर्ण सन्देश हो । इञ्जिनियरहरू अब केवल संरचना निर्माणमा होइन, नीति निर्माणमा पनि सशक्त रूपमा आउन थालेका छन् भन्ने सन्देश यो महाधिवेशनले दिएको छ ।

उपाध्यक्षमा इञ्जिनियर विकास श्रेष्ठ, सचिवमा इञ्जिनियर रचना सापकोटा निर्वाचित हुनुभएको छ । सचिवालय तथा केन्द्रीय सदस्यमा किशोरचन्द्र सुवेदी, रोशनबहादुर साउद, विशाल आचार्य, नवीन्द्र चालिसे, नितेश लामिछाने, सुदीन अधिकारी, सचिन श्रेष्ठ, प्रेमबहादुर लामा, आकाश खत्री, अनिश पोखरेल र लोकेन्द्र विष्टजस्ता इञ्जिनियरहरूको चयनले इञ्जिनियर वर्गको बढ्दो राजनीतिक चेतना देखाउँछ ।

निर्वाचित हुन नसकेका अन्य १८ जना इञ्जिनियर–रोशन भट्टराई, नवीन निरौला, कमल यादव, अफ्जल मिया, सुवास सुवेदी, नीरज खड्का, पदमबहादुर खड्का, दीपिका पाण्डेय, लोकेश मल्ल, आवरण आचार्य,  शरण पाण्डे, बालकृष्ण घिमिरे, विश्वास लम्साल, विमल थापा, मनिष सिलवाल, रमेश दाहाल, धर्मशिला रोकाया, विराज अर्याल भने सिट सङ्ख्याको सिमितताको कारण निर्वाचित हुन सक्नु भएन । तथापि उहाँहरू राजनीतिमा होमिनु भएकोले कुनै नै कुनै जिम्मेवारीका साथ राजनीतिमा अघि बढ्नु हुने छ भन्ने विश्वास लिन सकिन्छ ।

वकिलहरूको संगठित उपस्थिति

अधिवक्ताहरूको राजनीतिक सहभागिता इतिहासमै देखिन्छ । तर पछिल्लो पुस्ताका युवा वकिलहरूको सक्रियता त्यति उल्लेखनीय थिएन ।

यो महाधिवेशनमा अधिवक्ता गोपाल नेपाल संगठनको सचिवमा निर्वाचित हुनुभयो भने अधिवक्ता समीर रिजाल सचिवालय सदस्यमा विजयी हुनुभयो । त्यसै गरी अधिवक्ता कविराज घिमिरे र प्रशिक्षा कोइराला सदस्य पदमा निर्वाचित हुनुभएको छ । यी सबैको सहभागिता राजनीतिलाई संस्थागत, विधिपूर्ण र न्यायसम्मत ढङ्गबाट अघि बढाउने सङ्केतका रूपमा लिन सकिन्छ ।

नेतृत्वमा आउन चाहने अन्य वकिलहरू–प्रियङ्का साउद, अमृत बर्तौला, प्रज्ञा ज्ञवाली, गोविन्दकुमार शाह निर्वाचित हुन नसके पनि उहाँहरूको उम्मेदवारी नै लोकतान्त्रिक अभ्यास र राजनीतिक चेतनाको प्रतिबिम्ब हो । राजनीति र कानुनी ज्ञानको संयोजनले नीति निर्माणमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।

स्वास्थ्यकर्मीको पनि चासो

सचिव पदका लागि नर्स प्रेमिका शाहीले उम्मेदवारी दिनुभयो । यद्यपि उहाँ निर्वाचित हुन सक्नु भएन, तर यसलाई स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत व्यक्तिको राजनीतिक सक्रियता नयाँ खालको सामाजिक हस्तक्षेपको सुरुवात मान्न सकिन्छ ।अहिलेको राजनीतिमा हेल्थ पर्सपेक्टिभको खाँचो भइरहेका बेला नर्स जस्ता स्वास्थ्यकर्मीको उपस्थिति सन्देशमूलक छ ।

नेतृत्व परिवर्तन मात्र होइन, सोच परिवर्तनको लक्षण

अनेरास्ववियुको यो महाधिवेशनले नेतृत्वमा पुस्तान्तरण मात्र गरेको छैन, यसले सोचको दिशालाई पनि परिवर्तन गर्न खोजेको देखिन्छ । यो महाधिवेशनमा राजनीतिलाई भाषण, नारा र नाराजस्तो पारम्परिक अभ्यासबाट नीति, विचार र जनउत्तरदायित्वतर्फ मोड्ने प्रयास देखिएको छ । पढेलेखेका युवाहरूको सहभागिताले संगठनलाई केवल सङ्ख्यात्मक बलमा होइन, गुणस्तरीय योगदानमा बलियो बनाउने दिशामा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

समिक बडालको पूर्वानुमान र यथार्थ

महाधिवेशनको पूर्वसन्ध्यामा अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले यो महाधिवेशन ‘नयाँ सन्देश दिनेछ’ भनेर बताउनुभएको थियो । अहिले हेर्दा उहाँको त्यो भनाइ केवल राजनीतिक औपचारिकता थिएन । वास्तवमै, यो महाधिवेशनले नेपाली राजनीति र विशेष गरी वामपन्थी विद्यार्थी आन्दोलनलाई नयाँ दिशा, अनुहार र ऊर्जा दिएको छ ।

राजनीतिप्रतिको वितृष्णाविरुद्धको सबल उत्तर

जब युवाहरू राजनीतिप्रति वितृष्णा जनाउँछन्, त्यो लोकतन्त्रका लागि खतरा हुन्छ । तर जब पढेलेखेका, जनसेवामा सक्रिय, पेसागत दक्षता भएका युवाहरू राजनीतिमा नेतृत्व लिन आउँछन्, त्यसले लोकतन्त्र बलियो हुन्छ । अनेरास्ववियुको यो महाधिवेशन यस्तै सकारात्मक हस्तक्षेपको एउटा उज्यालो उदाहरण हो ।

यो महाधिवेशनले देखाएको छ कि देशको भावी राजनीतिमा निर्णायक भूमिका खेल्ने युवा अब नारामा सीमित छैनन् । तिनको लक्ष्य अब नेतृत्व, नीति निर्माण र संस्थागत परिवर्तनतिर छ । त्यो परिवर्तन केवल सम्भावना मात्र होइन, क्रमशः यथार्थ बन्दै गएको छ ।