जनता टाइम्स

३१ जेष्ठ २०८२, शनिबार १८:४८

चुनावको तिक्तता भुलेर दौडियो डाक्टर सुजन नेतृत्वको अखिल, पहिलो बैठकमै सचिवको कार्यबिभाजनसहित लियो ठोश निर्णय


काठमाडौं, जेठ ३१ । नेकपा एमालेको जनसंगठन (अनेरास्ववियु) नयाँ निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।

शनिबार तुल्सीलाल स्मृति भवन च्यासलमा संगठनका अध्यक्ष डा. सुजन कडरियाको अध्यक्षतामा र नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

बैठकले संगठनको २४ औँ महाधिवेशन संगठनको इतिहासमै नीतिगत, वैचारिक र सांगठनिक दृष्टिले विशेष महत्वका साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ । ३२ वर्ष मुनिका युवाहरू मात्र नेतृत्वमा रहने निर्णयले कक्षाकोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व र जेन जी पुस्तासँग संगठनलाई जोड्ने प्रतिविद्धतालाई औपचारिक मान्यता प्रदान बैठकले निर्णय गरेको छ ।

सो निर्णयले लामो समय योगदान गरेका अग्रज विद्यार्थी नेता हलाई पार्टीभित्र समुचित जिम्मेवारी दिने कुरामा दबाब पनि सिर्जना गरेको बैठक पछि अध्यक्ष कडरियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखा परेका केही अवाञ्छित प्रवृत्तिहरूलाई दृढतापूर्वक अस्वीकार र खारेजी गर्दै सम्पूर्ण जनवादी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भई प्रतिगमनको विरुद्ध आफ्ना अभियानहरूलाई तीव्रताका साथ अगाडी बढाउनुपर्ने जिम्मेवारीलाई स्मरण गराएको विज्ञप्तिमा जनाइएको छ ।

‘लोकतान्त्रिक प्रणाली र मूल्यमा अडिग शक्तिहरूलाई झुटको प्रचार र अराजनीतिक कुचेष्टाबाट बदनाम गर्ने खेलप्रति गम्भीर चिन्ता व्यक्त गर्दै हामी भन्न चाहन्छौँ इतिहासको गति सधैँ प्रगतिशील र भविष्यमुखी हुन्छ, भूतमुखी होइन’, विज्ञप्तिमा लेखिएको छ ।

अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेको शक्ति सन्तुलनको पुनर्संरचना, तीव्र फेरबदल र नयाँ शक्तिकेन्द्रहरूको उदयले नेपालजस्तो मुलुकमा परनिर्भरता र अस्थिरता बढाउने प्रयत्न भइरहेको प्रति संगठनले चिन्ता व्यक्त गरेको छ । यस्तो अवस्थामा विदेशी स्वार्थको बलियो माध्यम बन्न खोजिरहेका अनुहारहरूको पहिचान र प्रतिरोधका लागि सम्पूर्ण देशभक्त विद्यार्थीहरू एकजुट हुन आवश्यक रहेको अनेरास्ववियुको ठहर छ ।

नेपालको जनसङ्ख्यामा युवाको अनुपात उच्च रहेकाले यसलाई राष्ट्र निर्माणमा क्रियाशील बनाउने र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी ब्रेन ड्रेन न्यूनीकरण गर्नतर्फ सरकार र सम्बन्धित निकायको गम्भीर ध्यान जानु जरुरी रहेको संगठनले औँल्याएको छ ।  यसका लागि एकेडेमिया र नीति निर्माण बिचको खाडल चिर्ने ठोस पहल अबको प्राथमिकता हुनुपर्ने अनेरास्ववियुको धारणा छ ।

 

शिक्षामा रहेको वर्गीय र संस्थागत विभेदको अन्त्य गर्दै, शिक्षा जस्तो आधारभूत हकलाई निजीकरणको दुष्चक्रबाट मुक्त गरी सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित हुने नीतिगत अभियानमा अडिग रहने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ । सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षाको पहुँच विस्तार संगठनको प्रमुख एजेण्डा हुने उल्लेख गरिएको छ ।

नवनिर्वाचित केन्द्रीय कमिटीको तर्फबाट नेकपा एमालेको नेतृत्व, त्रिभुवन विश्वविद्यालय प्रशासन, सुरक्षा निकाय, पत्रकार, निर्वाचन मण्डल, आयोजक कमिटी, प्रतिनिधि लगायत महाधिवेशनलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्णप्रति संगठनले आभार व्यक्त गरेको छ ।

बैठकले केन्द्रीय कमिटीमा निर्वाचित सचिवहरूको निम्न कार्यविभाजन पनि गरेको छ । जस अनुसार आर्थिक सचिवमा आकाश घर्ती मगर,  संगठन सचिवमा अधिवक्ता गोपाल नेपाल, प्रचार सचिवमा समिमबाबु खान र विदेश सचिवमा इञ्जिनियर रचना सापकोटालाई जिम्मेवारी दिइएको छ ।

बैठकमा पार्टी संगठन विभाग सचिव एवं अनेरास्ववियुका पूर्व अध्यक्ष माधव ढुङ्गेल, पार्टी नेता एव‌ं पूर्वअध्यक्ष बराल, निवर्तमान अध्यक्ष समिक बडाल लगायत सहभागी हुनुन्थ्यो ।