जनता टाइम्स

३१ जेष्ठ २०८२, शनिबार ११:०४

भिजिट भिसाा काण्ड अहिलेको गृहमन्त्रीसँग मात्रै सम्बन्धित छैन, यो काण्ड र अग्निजीको कुनै सम्बन्ध छैन


काठमाडौं, जेठ ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा माओवादीले केही लेनदेन नगरेको बताउनु भएको छ ।

सो मुद्दामा कांग्रेससँग माओवादीले केही नसाटेको उहाँले प्रष्ट पार्नुभयो । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भिजिट भिसा काण्ड र माओवादी नेता अग्नि सापकोटाको कुनै सम्बन्धन नरहेको बताउनुभयो ।

सो प्रकरणको छानबिन गर्नुपर्छ भन्ने कुरामा माओवादीको अडान यथावत् रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘हामीले भनेको भने छानबिन हुनुपर्छ, यो विषय गम्भीर छ, यो अहिलेको गृहमन्त्रीसँग मात्रै पनि सम्बन्धित छैन, यो विषय धेरै पहिले देखिकै अत्यन्तै संवेदनशील विषयको रूपमा छ, त्यस कारण सुशासनको निम्ति यसको छानबिन हुनुपर्छ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘भिजिट भिसाा काण्ड अहिलेको गृहमन्त्री रमेश लेखकसँग मात्रै पनि सम्बन्धित छैन । अनि भिजिट भिसा काण्ड र माओवादी नेता अग्नि सापकोटाको कुनै सम्बन्धन छैन ।’

सो विषयमा गहिरो अध्ययन हुन आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसको अध्ययन गर्ने र त्यसको लागि संरचना बनाउने सहमति भएपछि अहिलेको आवश्यकता अनुसार देशको निम्ति सहज वातावरण बनाउन संसद्को अवरोध हटाएको उहाँले स्पष्ट पार्नुभयो ।