काठमाडौं, ३१ जेठ । नेकपा एमाले निकट कानुन व्यवसायीहरूको संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संघ (पिपिएलए) को तेस्रो राष्ट्रिय सम्मेलन शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।
सम्मेलनको नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै ज्ञवालीले पार्टीलाई सही दिशामा अघि बढाउन बौद्धिक क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सो खालको भूमिका खेलिदिन पिपिएलएलाई अनुरोध गर्नुभयो ।
यति बेला पार्टी र नेतृत्व माथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उहाँले यसको सबैले प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभयो । एमाले र एमालेको नेतृत्व माथि किन प्रहार भइरहेको छ भन्ने कुरा जनतालाई बुझाउन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व भरसक सर्वसम्मत रूपमा चयनको प्रयास हुने र सहमति नभए मतदान प्रक्रियामा गएर टुङ्गो लगाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्