काठमाडौं, जेठ ३१ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको विकल्पको रूपमा राजमार्गलाई अघि बढाउनु पर्ने बताउनुभएको छ ।
नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको दोलालघाट–चर्नावती सुरुङ मार्ग निर्माणको सम्भाव्यता बारे छलफलमा बोल्दै गुरुङले बिपी राजमार्गमा क्षति हुँदा काठमाडौंबाट पूर्व जानेलाई सास्ती भएकोले अब त्यसको विकल्प खोज्नु पर्ने बताउनुभयो ।
‘हामीलाई भूगोलले साथ दिएको छ, बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको रूपमा यो सुरुङ मार्गले महत्त्व राखेको छ’, उहाँले भन्नुभयो ।
सो सुरुङमार्ग दोलखाको निम्ति मात्र नभएर उत्तर–दक्षिण र काठमाडौं प्रवेशका लागि पनि महत्त्वपूर्ण भएको गुरुङले बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली निर्माणको अभियानमा लागौँ, निराश न हुँ, निराश हुनु पर्ने कारण नै छैन, समृद्ध नेपाल निर्माणको काममा जुटौँ’, उहाँले भन्नुभयो ।
अहिले केही निराशा छर्ने काम भएको बताउँदै गुरुङ निराश हुन आवश्यक नरहेको बताउनुभयो । विभिन्न सङ्कटका कारण यति बेला विश्वमा एक खालको निराशा छाएको बताउँदै गुरुङले त्यसलाई चिरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्