गण्डकी, १ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा लाग्न सबै सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ । सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराको २४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश उच्च विपद् जोखिमयुक्त स्थल भएकाले सम्भावित जोखिमको प्रतिकार्यका लागि तयारी हुनुपर्नेमा जोड दिनुभयो । यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वअनुमान गरिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यसतर्फ बेलैमा सचेत बन्नु जरुरी रहेको बताउनुभयो । उहाँले सरोकार भएका निकायसँग सहकार्य र समन्वय गर्दै मनसुनजन्य विपद् प्रतिकार्यका लागि कार्ययोजनाका साथ लाग्न सबै सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
अन्तरराष्ट्रिय सीमासुरक्षासँगै विपद् व्यवस्थापन, राजस्व, भन्सार तथा औद्योगिक सुरक्षालगायत सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको मुख्यमन्त्रीले प्रशंसा गर्नुभयो । सीमित साधनस्रोतका बाबजुद विपद् प्रतिकार्यमा प्रदेश सरकारले सुरक्षा निकायलाई सहयोग गर्दै आइरहेको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले देशमा शान्ति सुरक्षाको स्थापनासँगै विपद् उद्धरलगायत क्षेत्रमा सशस्त्र प्रहरी बलले महत्त्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो । असीमित आवश्यकता र सीमित साधनस्रोतका बीचबाट प्रभावकारी सेवा प्रवाहमा प्रदेश सरकार अघि बढेको उहाँको भनाइ छ ।
उक्त अवसरमा मुक्तिनाथ बाहिनीलाई विभिन्न रूपमा सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, दिवसका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, विभिन्न विधामा पुरस्कृत हुने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उहाँहरूलाई मुख्यमन्त्री पाण्डेसहित पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पौडेल, मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाहलगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारद्वारा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्