काठमाडौं, १ असार । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष नेपाली राजदूत लोकदर्शन रेग्मीले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
सो क्रममा राजदूत रेग्मीले नेपाली जनता, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अमेरिकी जनता र राष्ट्रपति ट्रम्पलाई हार्दिक शुभेच्छा र निरन्तर प्रगतिको शुभकामना दिँदै नेपालको निरन्तर प्रगतिमा अमेरिकी सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियो ।
राजदूत रेग्मीले सगरमाथाको देश, गौतम बुद्धको जन्मभूमि नेपाल र नेपाली जनता अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेपालमा स्वागतका लागि आतुर रहेको जानकारी दिनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार बनाउन नेपाल सरकार दृढ अठोटका साथ क्रियाशील रहेको जानकारी दिनुभयो । नेपाल र अमेरिकाबिचको सम्बन्धलाई अझ मजबुत बनाउन, साझा समृद्धि, विश्वशान्ति र जीवन एवं जगतको सन्तुलनका लागि अमेरिकी राष्ट्रपति र सरकारसँगको सहकार्य एवं सम्बन्धलाई अझ सशक्त बनाउन आफू सदा प्रयत्नशील रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रपति ट्रम्पले द्विपक्षीय सम्बन्धमा विषयमा खुसी व्यक्त गर्दै नेपाल भ्रमणको सम्भावना व्यक्त गर्नुभएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्