जनता टाइम्स

४ असार २०८२, बुधबार १५:३५

भोटेकोशी–सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनको अनुरोध


सिन्धुपाल्चोक, ४ असार । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा भोटेकोशी नदीको आसपास अत्यधिक वर्षा हुने पूर्वानुमानसहित प्राप्त सूचनाका आधारमा भोटेकोशी र सुनकोशी नदी किनार क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार असार ३ गतेदेखि ७ गतेसम्म भोटेकोशी नदीमा बहाव अत्यधिक बढ्ने सम्भावना रहेकाले सो क्षेत्रबाट बहने नदीहरूको आसपासका बासिन्दा बाढीको उच्च जोखिममा पर्न सक्ने आशङ्का व्यक्त गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले एक सूचना जारी गर्दै सिन्धुपाल्चोक जिल्लाभित्र पर्ने भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ।

यसअघि पनि तिब्बततर्फको अत्यधिक वर्षाका कारण भोटेकोशी र सुनकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा जनधनको ठुलो क्षति पुर्‍याउँदै आएको छ ।