जनता टाइम्स

१४ असार २०८२, शनिबार ०९:२०

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र


झापा, १४ असार ।  ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ मेचीनगर नगरपालिकाले महिला सीप विकास केन्द्रको निर्माण गरेको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाको रु तीन करोड ५० लाखको लागतमा सो केन्द्रको निर्माण गरी सञ्चालनमा ल्याएको होे । मेचीनगर नगरपालिकाभित्रका विपन्न, सीमान्तकृत, लोपोन्मुख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलालाई सीप सिकाएर व्यावसायिक बनाउने उद्देश्य लिएर भवन निर्माण गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।

मेचीनगर–८ मा निर्माण भएको भवन नगर गौरवका योजनामध्येको एक रहेको उहाँको भनाइ छ । उहाँले सीप केन्द्रमा महिलाहरूले उत्पादन गरेका सामग्री बजारीकरणमा नगरपालिकाले नै सहकार्य गर्ने बताउनुभयो । “हामी उहाँहरूले इच्छाएको सीप सिकाएर दक्ष बनाउँछौँ”, उहाँले भन्नुभयो, “सीप सिकेर उत्पादन गरिएका सामग्रीको बजारीकरणमा समेत सहकार्य गर्छौँ ।” उद्यमी बन्न चाहाने महिलाहरूका लागि यो तालिम केन्द्र उपलब्धीमूलक हुने उपप्रमुख उप्रेतीले बताउनुभयो ।

नगरपालिकाको गौरवको योजनाअन्तर्गत विसंं २०७४ देखि भवन निर्माणका लागि सुरू भएको तालिम केन्द्र यसपटक सम्पन्न भएको हो । केन्द्रमा ज्येष्ठ नागरिक महिलाहरूलाई पातको दुनाटपरी, लाखबत्तीलगायतका विभिन्न सीपमूलक तालिम सिकाउने तथा त्यसको बिक्री वितरण गर्ने, त्यस्तै महिलाहरूको लागि कम्प्युटर तालिम, आयआर्जनका विभिन्न सीपमूलक तालिम मायाको चिनो, सजावटका सामान, ब्याग, फूलदानी, ढाका बुन्नेलगायतका तालिम प्रदान गर्दै महिलाहरू आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

जसमध्ये ढाका बुन्ने तीन महिने तालिमको सुरूआत समेत गरिसकेको छ । महिलाहरूको जीवनमा परिवर्तन ल्याउन महिलाको हातमा सीप र आर्थिक स्रोत अपरिहार्य हुन्छ भन्ने मनन गरी नगरपालिकाले तालिम केन्द्रको स्थापना गरेको नगर उप्रमुख उप्रेती बताउनुहुन्छ ।