जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १८:१३

धमाधम कानूनी दायरामा चर्चित ब्यापारिक घराना : रुप ज्योतिपछि पक्राउ पर्दै ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति


काठमाडौं, कात्तिक २५ । अदालतले ठगी अभियोगमा प्रतिष्ठित ब्यापारिक घराना ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई समेत पक्राउ गर्न अनुमति दिएको छ । नेपाल प्रहरीको माग अनुसार जिल्ला अदालत काठमाडौंले आज पद्म ज्योतिलाई समेत पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

सो ग्रुपका संचालक पूर्व अर्थ सहायकमन्त्री डाक्टर रुप ज्योतिमाथि अनुसन्धान गरिरहेको प्रहरीले उनका दाई पद्म ज्योतिलाई समेत पक्राउ गर्ने अनुमति पाएको हो । प्रहरीले गत बिहीवार ठगी अभियोगमा रुप ज्योतिसहित उनकी छोरी सरुचि ज्योतिलाई बिमानस्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । रुप ज्योति र उनका छोरी सुरुचीलाई आइतवार अदालतबाट म्याद थप भएको छ ।

नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो । त्यसैका आधारमा गत वर्षको मंसिर १९ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । तर, ज्योति समूहले सर्वाेच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको हो ।

रुप ज्योतिविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए । पद र पतिष्ठाको आडमा सर्वसाधरण ठगी गरेपनि लामो समय कानूनी दायरामा आउन नसकेका ठुला घरानाका ज्योति समुहलाई यो ठगी निकै महंगो परेको हो । बिगतमा ज्योति घरानाबिरुद्ध प्रहरीले मुद्दासमेत नलिने अवस्था रहेकोमा अहिले धमाधम कानुनको दायरामा आउन थालेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधमा संलग्न भएका ब्यक्तिको पद, प्रतिष्ठा र पैसा नहेर्न प्रहरीलाई निर्देशन दिनुभएपछि आइजीपी सर्वेन्द्र खनालले मातहतका सवै निकायलाई यही निर्देशनअनुसार काम गर्न भनेपछि भिभिआइपीको बास प्रहरी हिरासत र जेलमा हुन थालेको हो ।