जनता टाइम्स

१० श्रावण २०८२, शनिबार ०८:५९

भटाैली खाेलाकाे कटानका कारण पक्की पुल जाेखिममा


रामेछाप, साउन १०। रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा  काठमाडौंसंग जाेड्ने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुल कटानको उच्च जोखिममा परेको छ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पिलरमा भटौली खोलाको बाढीले सिधै ठोक्किन थालेको छ। खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार खोलाको बहावले पुलको पकरबासपट्टिको पिलरमा खाेलाले हानेकाे ५ । ‘खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएको छ, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्छ’, वडाध्यक्ष पौडेलले भन्नुभयाे ।

उहाँले पुलको सुरक्षाका लागि खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको बताउनुभयाे। वर्षा याम सुरु भएसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुल बगाउने जोखिम उच्च रहेको उहाँको भनाइ छ।

भटौली खोलाको सो पक्की पुल  तीनवटा गाउँपालिका जाने प्रमुख र  काठमाडाै‌ं जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्वपूर्ण मानिन्छ। गत वर्ष खुर्काेटकाे पुल बगाउँदा दाेलखा जाने गाडीले समेत यही बाटाे प्रयाेग गरेका थिए। पुलमा क्षति पुग्ने हो भने यस क्षेत्रको आवागमन नै अवरुद्ध हुने स्थानीयवासीहरू बताउँछन्।