जनता टाइम्स

११ श्रावण २०८२, आईतवार १०:३२

रामेछाप नगरपालिकाको गौरवको योजना अलपत्र, माटोको डङ्गुर भित्रै हरायो बहुउद्देश्यीय कवर्डहल


रामेछाप, साउन ११ । रामेछाप नगरपालिकाले गौरवको योजना भनेर थालनी गरेको सुकाजोर बहुउद्देश्यीय कवर्डहल निर्माण आयोजना आर्थिक अभावका कारण अलपत्र परेको छ ।

नगरको ७ नम्बर वडास्थित सुकाजोरमा निर्माण सुरु गरिएको कवर्डहल र खेल मैदानको संरचना निर्माण अपूरै अवस्थामा रोकिएको छ । राष्ट्रिय योजना आयोग र रामेछाप नगरपालिकाको साझेदारीमा सुरु गरिएको सो आयोजना अन्तर्गत हालसम्म ५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर, निर्माण कार्य अन्तिम चरणमा पुग्न नपाउँदै बजेट अभावमा रोकिन पुगेको हो।

उक्त योजनामार्फत इनडोर खेलका लागि बहुउद्देश्यीय कवर्डहल त बनेको छ, तर त्यससँगै जोडिएको बाहिरी खेलमैदानको काम अधुरै छ। मैदानको भुईँ सम्याउने काम, टेवा पर्खाल लगाउने, पानीको निकास बनाउने, थप संरचना निर्माण गर्ने काम अझै थालिएको छैन।

गत वर्ष रामेछाप नगरपालिकाले खेल मैदानको काम अघि बढाउनका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर बजेट न्यून भएकाले न त मैदान सम्याउन सकियो, न त आवश्यक पर्खाल लगाउन सकियो।

कवर्डहल वरिपरि अहिले पनि खनिएको माटोका डङ्गुर थुप्रिएकाे छ। ती हटाउन मात्रै लाखौँ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यस वर्ष वडा कार्यालयले त्यसका लागि जम्मा १० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ।

‘नगरको गौरवको आयोजनाको अवस्था यस्तो हुनु नगरवासीका लागि दुःखको कुरा हो’, रामेछाप नगरपालिकाका स्थानीय बासिन्दा तथा पत्रकार बद्री नयाँघरेले बताउनुभयो, ‘यसमा सबैको ध्यान जान आवश्यक छ’, उहाँले भन्नुभयाे ।

अहिले मैदानको माथिल्लो भाग जमिन बग्न नदिन टेवा पर्खाल लगाउनु आवश्यक छ भने तल्लो भागमा पनि पर्खाल लगाएर मैदान उठाउनु पर्ने आवश्यकता छ। तर बजेटको जोहो नहुँदा त्यो सम्भव देखिँदैन। निर्माणको प्रारम्भिक चरणमै ठूलो बजेट खर्च भए पनि आयोजनाको बाँकी भाग योजनाविहीन बनेको स्थानीयको गुनासो छ।

स्थानीयवासीहरू भन्छन् – ‘खेल गतिविधिका लागि सुविधा सम्पन्न पूर्वाधार निर्माण गर्ने योजना अत्यन्तै सकारात्मक थियो तर योजनाको दीर्घकालीन डिजाइन, प्राविधिक तयारी र पर्याप्त बजेट सुनिश्चित नगरी काम सुरु गर्दा अहिले त्यसले नगरको प्रतिष्ठामा नै आँच पुर्‍याएको छ।’

स्थानीयहरू चाहन्छन्- नगरपालिका र सरोकारवाला निकायले सो आयोजना पुनः प्राथमिकतामा राखेर बाँकी निर्माण कार्य अघि बढाओस्। अन्यथा आधा बनेका संरचना पनि समयसँगै जीर्ण हुँदै जान सक्ने खतरा देखिन्छ।