रामेछाप, साउन १७ । निर्माण व्यवसायी र कार्यालयले अलपत्र पारेको सडक मर्मत गर्न रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुका युवाहरू जुटेका छन् ।
ठेक्का सम्झौता अनुसार समयमा काम नगरेर अलपत्र परेको खिम्ती– रस्नालु–गर्जाङ सडकको बेतालीदेखि रस्नालुसम्मको खण्ड यातायात साधन चल्नै नसक्ने गरी बिग्रिएपछि त्यसको मर्मतमा स्थानीय युवाहरू जुटेका हुन् । भीमेश्वर युवा क्लबको सक्रियतामा शुक्रबारबाट श्रमदानमार्फत सडक मर्मत सुरु गरिएको हो । स्थानीय युवाले सडकमा भएको खाडलहरू पुर्ने काम गरिरहेका छन् ।
स्थानीय युवा सुमन फुयाँलका अनुसार, लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेको सडकका कारण एम्बुलेन्स चलाउन समेत नसकिने अवस्था आएकोले सडक मर्मतको काम थालिएको हो । युवाहरूले हिल्लामे सडकमा ढुङ्गा हालेर मर्मत गरेका छन् ।
गोकुलगंगा गाउँपालिकामा हाल सो सडकको दुईवटा खण्डमा कालोपत्रेको ठेक्का लागेर काम भइरहेको छ । बेताली–भीमसेनस्थान सडक खण्डको ४.५ किलोमिटर र दार्खाखोला–बुर्के–धारापानी खण्डको ४.५ किलोमिटर सडक निर्माणको लागि ठेक्का लागेको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार बेताली–भीमसेनस्थान खण्डका लागि १५ करोड ३९ लाख रुपैयाँ र दार्खाखोला–बुर्के-धारापानी खण्डका लागि १४ करोड ८५ लाख रुपैँयामा ठेक्का लागेको थियो । तर सडकको निर्माणको काम ५० प्रतिशत मात्र भएको छ ।
खनेर छाडिएको सडक वर्षामा पानी जमेर खाडल बनी यातायात साधन गुड्नै नसक्ने अवस्था सिर्जना भएको छ । रामेछापका गोकुलगंगा, उमाकुण्ड तथा सोलुसम्म जाने सवारी साधन र लिखु खोलामा सञ्चालनमा रहेको हाइड्रो पावरका समान लिएर जाने ठुला सवारी साधन समेत यही बाटोमा गुड्ने गर्दछन् । जसले गर्दा सडक बिग्रिएर साना यातायात साधन चल्ने नसक्ने अवस्थामा पुगेको छ ।
सडकको काम छिटो गर्नका लागि बारम्बार ताकेता गर्दा पनि सरोकारवालाले ध्यान नदिएका गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को गुनासो छ । सडक समयमा नै नबन्दा नागरिकले सास्ती भोग्नु परेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्