रामेछाप, साउन १७। रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवीलाई आकर्षक गन्तव्यको केन्द्र बनाउन खाँडादेवी विकास कोष जुटेको छ ।
२०७० सालदेखि मन्दिरको सबै व्यवस्थापनको काम गर्दै आएको विकास कोषले मन्दिरलाई आकर्षक र वातावरणमैत्री बनाउने काम सुरु गरेको छ ।
मन्दिरलाई रमणीय बनाउन मन्दिरसम्म जाने सिँढीको दुवै तर्फ तथा मन्दिरको वरिपरि फूल बगैँचा बनाउन लागिएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसै गरी मन्दिरको प्राङ्गणमा समेत गमलामा फूल राखेर मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिर परिसरमा लगाइएको फूलबारीको गोडमेलका लागि महिनामा दुई पटक सामूहिक गोडमेलको काम समेत हुने गरेको तामाङले जानकारी दिनुभयो ।
विकास कोषकै अगुवाइमा खाँडादेवीको मन्दिरलाई पुरातात्विक हिसाबले आधुनिक र भव्य बनाइएको छ । पुरातात्विक हिसाबले बनाइएको संरचनाको कारण मन्दिर अति आकर्षक देखिएको छ । मन्दिर, मन्दिर बाहिरका पर्खाल तथा पेटी लगायतका संरचना, मन्दिरसँग रहेको सत्तल लगायतका सबै संरचनाहरू पुरातात्विक हिसाबले पुरातत्त्व विभाग र विकास कोष मार्फत निर्माण भएको छ ।

खाँडादेवी गाउँपालिकाको वडा नं ७ र वडा नं २ को सिमानामा पर्ने खाँडादेवी मन्दिर अहिले दर्शनार्थीहरुको मन लोभ्याउने थलो बनेको छ । मेहनत गर्यो भने भनेजस्तो बनाउन सकिन्छ भन्ने उदाहरण खाँडादेवी मन्दिरमा खाँडादेवी विकास कोषले देखाएको छ ।
खाँडादेवी ऐतिहासिक धार्मिक शक्तिपीठ हो । मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला चढाएको घण्टी र दरबारले चढाएको सुन र चाँदीको जन्तरले यसको ऐतिहासिकतालाई पुष्टि गर्दछ ।

नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई कुखुराको पोथी बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ ।
अहिले खाँडादेवी विकास कोषले बडा दशैँ र चैते दशैँमा सो सरकारी पूजा गर्दै आएको छ । मन्दिरमा पुजारी राखेर दैनिक पूजाको व्यवस्था पनि कोषले मिलाएको छ । यो मन्दिरमा दर्शन गर्न नेपाल भरका मात्र नभई भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।













प्रतिक्रिया दिनुहोस्