रामेछाप, साउन १७ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेलेको वडाध्यक्ष निर्वाचित भएदेखि एउटै चिन्ता छ, गाउँमा वर्षाको समयमा पनि कसरी यातायात साधन चलाउने ?
गाउँका सबै सडक कच्ची छन् । वर्षा लाग्ने बित्तिकै गाउँका सबै सडक भत्किने र पैरिन गर्छन् । नियमित सडक मर्मत नगर्दा सडक सबै बनभाडाले ढाकेको हुन्छ । त्यो सबैलाई व्यवस्थापन गरेर कसरी सडक सञ्चालन गर्ने भन्ने चिन्ताले पौडेललाई गाँजी रहन्छ ।

हरेक साल वर्षा लागेपछि पौडेलको काम नै गल, गैँची, साबेल र हँसिया बोकेर सडकमा स्थानीय स्वयंसेवकका साथ दौडने हुन्छ । वडाध्यक्ष पौडेलको वडाध्यक्ष निर्वाचित भए देखिको नियमित तालिका नै भएको छ यो– असार, साउन र भदौ सडक मर्मत र सरसफाइमा जुट्ने उहाँको वार्षिक तालिका नै बनेको छ ।
यस पटक पनि बाढी पहिरोले ठाउँ ठाउँमा सडक बिगारेको छ । झाडीले ढाकेर सडक छिर्नै नहुने भएको छ । पौडेल अहिले स्थानीय गाउँलेको साथमा नियमित रूपमा सडक फाइको काममा जुट्नु भएको छ ।
जिल्ला सदरमुकाम मन्थलीबाट सो गाउँपालिको केन्द्र धोबी हुँदै सैपु, ढाँडे तथा उमाकुण्ड गाउँपालिकाको भुजी र गुप्तेश्वरसम्म पुग्ने मुख्य सडकको रूपमा रहेको धोबी–सिरिसे ढाँडे तथा धोबी–दिलौरी–ढाँडे र धोबी–सैपु–दुरागाउँ सडक वर्षा लागेसँगै बाढी पहिरोले हरेक वर्ष बिग्रने गर्दछन् । बिग्रिएका सडक मर्मत गर्ने उपकरण र आवश्यक बजेट नहुँदा सडक मर्मतको लागि आफैँ दौडनु परेको पौडेलले बताउनुभयो । यसमा स्थानीयले नियमित साथ दिएका उहाँले सुनाउनुभयो ।












प्रतिक्रिया दिनुहोस्