रामेछाप, साउन १८ । रामेछापको मन्थली नगरपालिका–८ स्थित गाईखुराको नर्वदेश्वर महादेव मन्दिर र सँगैको ऐतिहासिक सत्तलको जीर्णोद्धार सम्पन्न भएपछि चिटिक्क देखिएका छन् ।
पुरातत्त्व विभागले प्राविधिक रूपमा जीर्णोद्धार गरी पुरानै स्वरूपमा मन्दिर र सत्तल पुनर्निर्माण गरेको हो । तामाकोसी नदीको किनार माझी बस्तीको बिचमा रहेको यो धार्मिक स्थल ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
इतिहास र भूगोलका जानकार देवशंकर पौडेलका अनुसार सत्तल र मन्दिरमा रहेको शिलालेखमा शाके संवत् १७५० र श्री संवत् १८८५ उल्लेख छ । जसले यी संरचनाहरू करिब दुई सय वर्ष पुराना भएको प्रमाणित गर्छ ।
पौडेलका अनुसार गाईखुरा क्षेत्रको बिर्ता प्राप्त गरेका कान्तिमणि वैद्यले यहाँ नर्वदेश्वर शिवलिङ्ग स्थापना गरी मन्दिर बनाउनुभएकाे थियाे । सँगै यात्रु विश्रामका लागि सत्तल पनि निर्माण गरिएको थियो ।
विगतमा झिँगटीको छानो लगाइएको कलात्मक सत्तल संरक्षणको अभावमा भत्किएको थियो । अहिले पुरातत्त्व विभागले परम्परागत शैलीलाई यथासम्भव जोगाउँदै आधुनिक निर्माण प्रविधिको प्रयोगमार्फत पुनर्निर्माण गरेको छ ।
झिँगटीको सट्टा अब पाता ठोकिएको छ भने प्रयोग गर्न मिल्ने पुराना काठपात यथास्थान प्रयोग गरिएको छ । नयाँ काठ र इँटा प्रयोग गर्दा पनि पुरानो स्वरूप नखल्बलिने कुराकाे ख्याल गरिएको छ ।
सत्तलसँगैको शिव मन्दिर पनि मौलिक स्वरूपअनुसार पुनर्निर्माण गरिएको छ । सत्तलको वरपर रहेका केही पुराना शिलाहरू सत्तलमै जडान गरिएको छ भने कतिपय शिलालेखहरू भने हराएका र नष्ट भएका छन् ।
जीर्णोद्धारपछि यो क्षेत्र पुनः आकर्षक बन्दै गएकाले धार्मिक पर्यटन र सांस्कृतिक संरक्षणका हिसाबले यसको महत्त्व झनै बढेको स्थानीयवासीको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्