जनता टाइम्स

१९ श्रावण २०८२, सोमबार १२:०३

भटौली खोलाको पुलमा क्षति पुग्दा सुनकोशी–मरिण डाइभर्सनका सामग्री बोकेका गाडी रोकिए


रामेछाप, साउन १९ ।  रामेछापको खाँडादेवी गाउँपालिका हुँदै सुनकोशी–मरिण डाइभर्सन आयोजनाका लागि निर्माण सामग्री बोकेर आइरहेका ट्रक भटौली खोलाको पुलमा क्षति पुगेपछि बाटाेमै रोकिएका छन्।

रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने मुख्य सडक खण्डमा पर्ने भटौली खोलाको पक्की पुलमा शनिबार आएको बाढीले क्षति पु-याएपछि यातायात अवरुद्ध भएको हो। मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा रहेको सो पुलको खाँडादेवीपट्टिको पिलर पछाडिको भाग बाढीले कटान गरेपछि दुई पाङ्ग्रे सवारीबाहेक ठूला मालवाहक साधन सञ्चालनमा रोक लागाइएकाे छ। पुलको संरचनामा  समेत प्रत्यक्ष असर परेपछि जोखिम उच्च भएको र तत्कालै प्रयोग गर्न नमिल्ने अवस्था देखिएको छ।

सडक राेकिँदा सुनकोशी–मरिण डाइभर्सन आयोजनाका लागि वीरगञ्जबा निर्माण सामग्री बोकेर आएका ट्रकहरू खाँडादेवी गाउँपालिका–४ स्थित पकरबासमा रोकिएका छन्। ती गाडीहरू यसअघि सिन्धुलीको खुर्कोटतर्फको पुलमार्ग प्रयोग गर्दै आउने गर्दथे तर सो पुल बगाएपछि जडान गरिएको बेली ब्रिजबाट १५ टनभन्दा बढी तौल भएका गाडी सञ्चालनमा रोक लगाइएकाले भटौली हुँदै आवतजावत भइरहेका थिए । अहिले सो बाटोसमेत बन्द भएपछि वैकल्पिक मार्ग समेत अवरुद्ध बनेको छ।

चालक सिर्जन तामाङले वीरगञ्जबाट सामान बाेकेर आएका एक दर्जन गाडी पकरबासमै रोकिएको जानकारी दिनुभयाे। “खाली गाडी त खुर्कोटबाट जान सक्छ, तर लोड गाडीले त्यो बेली ब्रिज पार गर्न सक्दैन, अहिले यहाँको पुलसमेत अवरुद्ध भएपछि सामान लिएर आएका गाडीहरू शनिबारदेखि नै राेकिएका छन्’,  उहाँले भन्नुभयाे ।

स्थानीयबासीका अनुसार पुलको सोही भागमा गएको वर्ष असोजमा आएको बाढीले पनि क्षति पुर्याएको थियो। त्यति बेलै मर्मतमा गम्भीरता नदेखाउँदा यसपटक ठुलो क्षति भएको हो। ‘गत वर्षको क्षति देखेरै संरचनात्मक सुधार गर्नु पर्ने थियो, तर वास्ता गरिएन’,  स्थानीयकाे गुनासाे छ ।

रामेछाप सदरमुकामबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति र उत्तरी सिन्धुली जोड्ने यो पुल काठमाडौंदेखि तराइतर्फ जाने वैकल्पिक मार्गको एक महत्त्वपूर्ण संरचना मानिन्छ। गत वर्ष मन्थली–सिन्धुली सडकखण्डको खुर्कोट पुल बगाएपछि भटौली खोलाको पुल नै प्रमुख विकल्प बनेको थियो। तर अहिले सो पुलसमेत बन्द भएपछि समस्या भएकाे छ ।

पूर्वाधार विकास कार्यालय रामेछापका प्राविधिकका अनुसार बाढीको समयमा मर्मतको काम सुरु गरिएको थियो, तर बाढीले थप कटान गरेपछि अवस्था बिग्रिएको हो।  मेसिन प्रयोग गरेर तीव्र रूपमा काम अगाडि बढाइएको र अबको दुई दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको कार्यालयले जनाएकाे छ ।

भटौली खोलाको यो पक्की पुल आर्थिक वर्ष २०७१/०७२ मा स्विस सरकारको सहयोगमा सञ्चालित ‘स्थानीय सडक पुल कार्यक्रम’ अन्तर्गत निर्माण गरेको हो। करिब ४ करोड रुपैयाँ लागतमा बनेको यो ४० मिटर लामो पुल रामेछाप जिल्लाको रणनीतिक पूर्वाधारको रूपमा चिनिन्छ।