जनता टाइम्स

१९ श्रावण २०८२, सोमबार १४:०५

बहुविवाह असामाजिक र गैरकानुनी विषय : सुनिता बराल 


काठमाडौं, साउन १९ । प्रतिनिधि सभामा नेकपा एमालेकी सचेतक सुनिता बरालले मानवीय र कानुनी हिसाबले समेत संवेदनशील विषयमा अनावश्यक बहस र छलफल गर्नु नहुने बताउनुभएको छ ।

बहुविवाहलाई कानुनी रूपमा मान्यता दिनुपर्छ भन्ने विषय यस्तै संवेदनशील विषय भएकाले यस्ता विषयमा बहस हुनु दुखद भएको बरालले बताउनुभयो ।  सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बहुविवाह असामाजिक  र गैर कानुनी विषय भएकोले यस विषयमा कसरी बहस चल्यो भन्ने बारेमा कानुन मन्त्रालयले संसद्लाई जानकारी गराउनुपर्ने बरालले बताउनुभयो । ‘बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने सन्देश बाहिर प्रवाह भएको छ, जुन हरेक व्यक्तिको चासोको विषय बनेको छ, म यस विषयमा कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ’, उहाँले भन्नुभयो ।

बहुविवाह कानुनी र सामाजिक दुवै हिसाबले अस्वीकार्य विषय भएको उहाँले बताउनुभयो । ‘बहुविवाह नेपाली समाजमा सामाजिक मान्यता अनुरूप हेर्ने हो भने असामाजिक विषय हो भने कानुनी विषयमा हेर्ने हो भने गैर कानुनी विषय हो’, उहाँले भन्नुभयो ।

सामाजिक रूपमा उठेका यस्ता विषयमा गम्भीर हुन उहाँले कानुन मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।