रामेछाप, साउन २० । दोरम्बा शैलुङ गाउँपालिका–२ स्थित अँधेरी खोलाले बगाएको पक्की पुल अझै पुनर्निर्माण नहुँदा स्थानीय बासिन्दाहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । गत भदौ महिनामा आएको बाढी र पहिरोले ढोइगाउँस्थित उक्त पुल बगाएपछि एक वर्ष बित्न लाग्दासमेत वैकल्पिक व्यवस्था नहुँदा आवतजावतमा समस्या भएको हो ।
जिल्ला सदरमुकाम मन्थली तथा राजधानी काठमाडौंसँग दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडक मार्गमै रहेको अँधेरी खोलाको पुल बगाएपछि अहिले यात्रुहरू खोलाबाटै आवतजावत गरिरहेका छन् । स्थानीय थिरबहादुर थापा मगरका अनुसार पानी घटेका बेला लोडरले खोला सम्याएर सडक सञ्चालनमा ल्याइन्छ तर पानी परेपछि खोलाले बाटो नै बिगार्ने गर्छ । वर्षायाममा यातायातका साधन मात्र होइन, पैदल यात्रुहरूलाई समेत खोला पार गर्न मुस्किल हुने गरेको उहाँको भनाइ छ ।
खोलामाथि राखिएको झोलुङ्गे पुलसमेत पहिरोले क्षति पुर्याएपछि आवागमन अझ जटिल भएको छ । ‘कम्तीमा झोलुङ्गे पुलको मर्मत गरिएको भए पनि केही सहज हुन्थ्यो, तर त्यो पनि हुन सकेको छैन,’ थापाले भन्नुभयो, ‘स्थानीय बासिन्दा जोखिम मोलेर खोलैबाट तर्न बाध्य छन् ।’
स्थानीय जनप्रतिनिधिहरू तथा सम्बन्धित निकायबाट एक वर्षसम्म पनि कुनै पहल नदेखिएको स्थानीयहरूको गुनासो छ । वर्षायाममा खोला बढ्ने र बाटो अवरुद्ध हुने क्रम दोहोरिन थालेपछि अन्य सेवा र आपतकालीन अवस्थामा स्वास्थ्य सेवा लिनसमेत कठिनाइ हुने गरेको स्थानीयको अनुभव छ ।
पुल निर्माण तथा वैकल्पिक व्यवस्था नहुनु दोरम्बा शैलुङ क्षेत्रको भौगोलिक विकटता मात्र नभई राज्यको उपेक्षाको नमुना भएको स्थानीयवासीको भनाई छ । उहाँहरूले तत्काल कम्तीमा पनि झोलुङ्गे पुलको मर्मत तथा अस्थायी वैकल्पिक व्यवस्था गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग माग गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्